Nepal Times
Nepal Times
3
Shares

राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले सर्वसाधारणलाई दसैंको टीका नलगाइदिने

राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले सर्वसाधारणलाई दसैंको टीका नलगाइदिने

१ कात्तिक,  काठमाडौँ ।

यस वर्षको दसैंमा पूर्वराजा ज्ञानेन्द्र शाह, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् । कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलने उच्च जोखिमका कारण पूर्वराजाले शनिबार औपचारिकरुपमै टीका नलगाइदिने घोषणा गरिसकेका छन् भने राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयले त्यस्तो औपचारिक घोषणा गर्न बाँकी छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले विगतको जस्तो दसैंको टीका लगाउने कार्यक्रम नराखिएको बताए । उनले आधिकारीक रूपमा यसबारे केही दिनमै जानकारी दिइने बताए । राष्ट्रपतिका स्वकीय सचिव अधिकारीले भने, ‘वर्तमान अवस्थालाई हेर्दा टीका लगाउनु चुनौतीपूर्ण देखिएको छ । टीकाको केही दिन औपचारिक रुपमा सूचना जारी गरी यसको जानकारी दिने तयारीमा छौं, तर टीका लगाउने सम्भावना कम छ ।’

विगतका वर्षहरूमा राष्ट्रपतिले उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, सुरक्षानिकायका प्रमुखहरू, संवैधानिक आयोगका प्रमुखहरू लगायत उच्च पदस्थ व्यक्तिहरूलाई दसैंको टीका लगाइदिने गरिन्थ्यो ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस पटकको दसैंमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम नरहेको बताइएको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालयका अधिकारीहरूका अनुसार कोरोनाका कारण यसपटक त्यस्ता कार्यक्रम राखिएको छैन । विगतका वर्षहरूमा प्रधानमन्त्री ओलीले तीन दिनसम्म पनि सर्वसाधारणलाई दसैंको टीका लगाइदिने गरेका थिए ।

पूर्वराजा ज्ञानेन्द्र शाहले पनि यसपटक सर्वसाधारणलाई दसैंको टीका लगाउने कार्यक्रम रद्द भएको जानकारी दिएका छन् । शाहका तर्फबाट जारी विज्ञप्तिमा दसैंमा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम नरहेको उल्लेख गरिएको छ । यस वर्ष महाअष्टमीका दिन विभिन्न शक्तिपीठहरूमा दर्शन गर्ने र विजया दशमीका दिन टीका लगाइदिने कार्यक्रम नहुने विज्ञप्तिमा लेखिएको छ ।

विगतका वर्षहरूमा पूर्वराजा शाहले दसैंका अवसरमा मुलुकका विभिन्न भागमा रहेका शक्तिपीठहरूमा गएर पूजाआजा गर्ने र दसैंमा सर्वसाधारणलाई टीका लगाइदिने गरेका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.