Nepal Times
Nepal Times
3
Shares

राष्ट्रिय महिला लिग फुटबल आजदेखि शुरु, पहिलो खेलमा आर्मी र पुलिस भिड्दै

राष्ट्रिय महिला लिग फुटबल आजदेखि शुरु, पहिलो खेलमा आर्मी र पुलिस भिड्दै

७ माघ, काठमाडौं ।
राष्ट्रिय महिला लिग फुटबल आजदेखि शुरु हुँदैछ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् ।

उद्घाटन खेल दिउँसो २ बजे शुरु हुनेछ । पहिलोपटक बृहतरुपमा आयोजना गर्न लागिएको महिला लिगको उद्घाटन खेलमा दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए ।

उद्घाटनपछिका खेल भने एन्फा मैदान सातदोबाटोमा हुनेछन् । पहिलोपटक डबल राउण्ड रोबिनको आधारमा आयोजना हुन लागेको महिला लिगमा सात टोली सहभागी छन् ।

एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

महिला लिग पहिलोपटक राउण्ड रोबिनको आधारमा हुनलागेको हो । पाँचौँ संस्करणको महिला साफ च्याम्पियनसिप विराटनगरमा सफलतापूर्वक सम्पन्न गरेको एन्फाले कोरोनाकै कारण महिला लिगको आयोजना गर्न पाएको थिएन ।

यसपटकको महिला लिगमा सहभागी टोलीले चार विदेशी खेलाडीसमेत राख्न पाउनेछन् । प्रतियोगिताको विजेता टोलीले रु १० लाख, दोस्रोले रु आठ लाख, तेस्रोले रु पाँच लाख तथा चौथो हुनेले रु तीन लाख प्राप्त गर्ने एन्फाले जनाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर तथा विधागत उत्कृष्ट खेलाडीले जनही रु ५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।(रासस)

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.