Nepal Times
Nepal Times
3
Shares

रूसी राष्ट्रपति पुटिन नेपाल आउँदै, नेपालको युरेनियम भण्डारमा चासो

रूसी राष्ट्रपति पुटिन नेपाल आउँदै, नेपालको युरेनियम भण्डारमा चासो

६ मंसिर, काठमाडौँ ।

छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिङ पिङले नेपाल भ्रमण गर्नुभएको प्रस· सेलाउन नपाउँदै अर्को शक्तिशाली मुलुक रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण गर्नुहुने भएको छ।पुस दोस्रो साता (आगामी डिसेम्बर अन्तिम साता) पुटिनले नेपाल भ्रमण गर्ने तयारी अघि बढेको छ।

‘राष्ट्रपति पुटिनको तीनदिने नेपाल भ्रमणको कुरा भइरहेको छ, मिति तय भइसकेको छैन, उता (रूस)बाट डिसेम्बर अन्तिम साताका लागि प्रस्ताव आएको छ।’ –प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको उच्चस्रोतले भन्यो।

नेपालमा रहेको युरेनियम (रेडियोधर्मी) पदार्थ भण्डारको उत्खनन र खरिद गर्न चासो लिँदै रूसले पुटिनको भ्रमणको तयारी गरेको सो कार्यालयका उच्च अधिकारीले बताए। इन्धन र परमाणु हतियारको मुख्य कच्चा पदार्थका रूपमा प्रयोग गरिने युरेनियम चिकित्साशास्त्र, भौगर्भिक अध्ययनसहित विभिन्न प्रकृतिका वैज्ञानिक खोज अनुसन्धानमा समेत प्रयोग हुने गर्छ।

रूस युरेनियम प्रशोधन गर्ने विश्वकै पहिलो सूचीमा रहेको छ।खानी तथा भूगर्भ विभागको टोलीले मुस्ताङको लोमाङथानमा १० किमि लम्बाइ र तीन किमि चौडाइ क्षेत्रमा बहुमूल्य धातु युरेनियम भण्डार भएको पुष्टि गरेपछि सो क्षेत्रको निगरानी नेपाली सेनाले गर्दै आएको छ।

मकवानपुर धियालको तीनभंगाले, मकवानपुरकै चिरुवा र चाँदेखोला, काठमाडौंको उत्तर पश्चिमी क्षेत्र, शिवपुरी, नुवाकोटको ककनीलगायतका भेगमा समेत यस्तो धातु रहेको विभागको ठहर छ। अहिलेसम्मको अध्ययनअनुसार ठूलो र फराकिलो खानी भने लोमाङथानमा रहेको पुष्टि भएको छ।

रेडियोधर्मी पदार्थको प्रयोग र ओसारपसार फराकिलो बनिरहेका बेला नेपालमा अहिलेसम्म यसबारे कानुन बनेको छैन। रेडियोधर्मी पदार्थ उत्खनन, प्रशोधन र अन्तर्राष्ट्रिय बजार निर्यात गर्न आवश्यक पर्ने कानुन निर्माणका लागि अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)ले नेपाललाई सहजीकरण गर्दै आएको छ।

अस्ट्रेलियाको भियानामा मुख्यालय रहेको आईएईए यस विषयको नियमन गर्ने अन्तर्राष्ट्रिय निकाय हो। सन् २००८ को जुलाईमा नेपालले सो एजेन्सीको सदस्यता लिएपछि कानुन बनाउनुपर्ने तत्परता देखाउँदै आएको छ, तर कानुनले अझै अन्तिम रूप पाएको छैन।

पुटिन भ्रमणका क्रममा नेपाललाई ३ खर्ब रुपियाँ हाराहारीको ‘सफ्ट लोन’ दिने प्रारम्भिक प्रस्तावसमेत आएको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। उच्चस्तरीय भ्रमणको वातावरण तय गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भोलि शनिबार रूसको राजधानी मस्को जाँदै छन् । (नेपाल समाचारपत्रबाट)

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.