Nepal Times
Nepal Times
3
Shares

रोजगारीको खोजीमा कहिलेसम्म विदेशीने नेपाली ?

रोजगारीको खोजीमा कहिलेसम्म विदेशीने नेपाली ?

१७ मंसिर, काठमाडौं । वैदेशिक रोजगारी नेपाल र नेपालीका लागि लामो समयदेखि बाध्यतले भरिएको नियति बनिरहेको छ ।

हरेक पटक सरकारको नेतृत्व गर्ने सरकारले बेरोजगारी नियन्त्रणका लागि घोषणापत्र देखिनै योजनासहितका प्रतिबद्धता जनाएपनि तिनको व्यवहारिक कार्यान्वयन नहुदा नेपालीको बाध्यता बनेको वैदेशिक रोजगारमा जानुको बाध्यता हट्न सकेको छैन । विश्वभर कोरोना कहर छ । तर यो कहरलाई समेत भोको पेटले दिएको चुनौती र स्वदेशमा रोजगारीको संभावना नदेखिएपछि अहिलेपनि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आउन सकेको छैन । नेपालको अहिलेको मुख्य समस्या भनेकै बेरोजगारी बनेको छ । निर्वाचनताका लाखौँलाई रोजगारी प्रदान गरेर बेरोजगारी समस्या निराकरण गर्ने सपना देखाउने जुनसुकै राजीनितिक दलहरुले राज्य सत्तामा पुगेपछि रोजगारी सृजना गरि बैदेशिक रोजगारमा गएकाहरुलाई स्वदेश फर्काउन त सकेनन नै वर्षेनी श्रम बजारमा थपिने जनशक्तिलाई समेत विदेश पलायन हुनबाट रोक्न सकेका छैनन् । ४५ लाख बढि युवा वैदेशिक रोजगारीमा रहेको अवस्थामा कोरोना महामारीको पर्वाह नगरी थप नेपाली युवा विदेशीन बाध्य छन् । कोरोना महामारीले विदेशमा भएका नेपालीले रोजगारी गुमाएर स्वदेश फर्कदै गरेको अवस्थामा उतिनै संख्यामा नेपाली रोजगारीका लागि विदेशिदै पनि छन् । हाल कोरोना भाइरसको त्राससँगै लकडाउनका कारण आर्थिक क्रियाकलापहरु ठप्प प्रायः हुँदा कतिको रोजगारी गुमेको छ भने थप जनशक्ति श्रम बजारमा आउँदै छन् । यसले झनै बेरोजगारी समस्या उत्कर्षमा पुग्ने निश्चित नै छ । नेपालमा प्राप्त रोजगारीका अवसर समेत सीपयुक्त जनशक्तिको अभावमा नेपालीले नै नपाउँदा विदेशी नागरिकले उपभोग गरिरहेका छन् । त्यसले समेत भारतसँगै खाडी मूलुक जान नेपाली बाध्य छन् । यतिसम्म कि कोरोना महामारीको बिचमा साउन देखि कात्तिक महिना भित्र २० हजार भन्दा बढि नेपाली युवा वैदेशिक रोजगारीका लागि बाहिरिएका छन् ।

चालु आर्थिक वर्षको कात्तिकसम्ममा २० हजार ५ सय ६८ जना श्रमिकले विदेश जानको लागि श्रम स्वीकृति पाएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । लकडाउनका कारण केहिसमय बन्द भएको श्रम स्वीकृतिको प्रकृया विभागले पुनः खुला गरेसँगै हजारौँ ले श्रम स्वीकृतिका लागि आवेदन दिएका थिए । साउन महिनामा ३ हजार १ सय ५२ जना, भदौमा १ हजार ५ सय १५ जना, असोजमा ८ हजार ९७ जना, कात्तिकमा कुल ७ हजार ७ सय ९७ जनाले श्रम स्वीकृति लिए । नेपालमै रोजगारीका अवसर सृजना हुन सकेको भए कोरोना महामारीको त्रासमा युवाहरु रोजगारीकै लागि विदेश जानुपर्ने बाध्यता हुने थिएन तर कोरोनाको पर्बाह नगरी पछिल्लो ४ महिनाको अवधिमा विदामा आएका नेपालीहरु धेरै फर्किएका छन् । विभागका अनुसार नयाँ रोजगारीमा जाने भन्दा विदामा आएकाहरु धेरै फर्किएका छन् । ४ महिनामा श्रम स्वीकृति लिएकामध्ये ८३ प्रतिशत श्रमिक एकपटक रोजगारीमा गएर पुनः फर्कनेहरु छन् । तर पहिलोपटक विदेश जानेको लागि दिइने श्रम स्वीकृति ढिलो मात्रै खुला गरिएकाले पुनः श्रम स्वीकृति लिनेको संख्या बढी देखिएको हो । सरकारले पुनः श्रम स्वीकृति गत असारदेखि खुला गरेको थियो । तर, विदेश जानेका लागि दिइने श्रम स्वीकृति भने भदौ १५ देखि मात्रै खुला भएको थियो । यो अवधिमा विदेश जानेमध्ये म्यानपावर लगायत रिक्रुमेन्ट कम्पनीबाट जानेको संख्या निकै कम छ । यो अवधिमा जम्मा १ हजार ५ सय ३७ जना व्यक्ति मात्रै म्यानपावरमार्फत विदेश गएका छन् । भदौ १५ देखि स्वीकृति खुला भएसँगै ४९ जनाले म्यानपावरमार्फत श्रम स्वीकृति लिए । असोजमा ६ सय २६ जना र कात्तिक महिनामा ८ सय ६२ जनाले म्यानपावरमार्फत विदेश जाने श्रम स्वीकृति पाए । व्यक्तिगत रुपमा विदेश जान श्रम स्वीकृति लिनेको संख्या पनि साउन महिनामा शुन्य थियो । भदौमा ६७ जना, असोजमा ५ सय १६ जना तथा कात्तिकमा ४ सय १४ जनाले व्यक्तिगत रुपमा विदेश जान श्रम स्वीकृति पाएका छन् । यसरी अर्थोपार्जनका लागि विदेशिन बाध्य नेपालीहरुलाई सरकारले रोजगारीको उपयुक्त अवसर प्रदान गर्न सके विदेशी भूमिमा प्रयोग गरिने श्रम नेपालको विकासमा प्रयोग हुने थियो ।

कोरोना महामारीको समयमा परिवारजनसँग छुट्टिएर जोखिमपूर्ण श्रममा विदेशीन बाध्य नेपालीहरुका लागि सरकारले तत्काल रोजगारीका अवसरहरु सृजना गरि स्वदेशमा गरिखाने अवसर प्रदान गर्ने दिन कहिले आउलान । योजना र राजनीतिक अभिब्यक्ति कहिले कार्यान्वयन होलान ? यो आम नेपाली युवाको अपेक्षाको विषय हो । अब नेपालमा सहज तरिकाले कृषि क्षेत्रबाट धेरै रोजगारीका अवसर सृजना गर्न सकिने भएकाले स्थानीय तहले व्यापकरुपमा कृषि क्षेत्रमा जनशक्ति परिचालन गर्ने रणनीति बनाउनुपर्छ । त्यसका लागि संघीय सरकार र प्रदेश सरकारले यथासक्य सहयोग गरि विदेशबाट फर्किएकाहरुमा रहेको सीप र ज्ञानको प्रयोग गर्ने मौका दिनुपर्छ । उद्योग वाणिज्य महासंघमा भर्खरै आएको नयाँ नेतृत्वले समेत कृषि क्षेत्रमा रोजगारी सृजना गर्न सरकारसँग हातेमालो गर्ने योजना बनाएको छ । योजना केवल योजना मात्रै नबनोस । घर परिवार चलाउनकै लागि खेतबारी बाझा राखेर विदेशिएकाहरु स्वदेश फर्किने वातारण बन्न सकोस ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.