Nepal Times
Nepal Times
3
Shares

रोनाल्डोले दुई गोल गर्दा पनि युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरियो

रोनाल्डोले दुई गोल गर्दा पनि युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरियो

२४ साउन, एजेन्सी ।
इटालियन च्याम्पियन युभेन्टस यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ चरणबाट नै बाहिरिएको छ । शुक्रबार घरेलु मैदानमा भएको खेलमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै फ्रान्सेली टोली लियोनलाई २–१ ले पराजित गरेपनि युभेन्टस अगाडि बढ्न सकेन । समग्रमा २–२ को स्कोर भएपनि अवे मैदानमा गोल गरेको आधारमा लियोन भाग्यमानी बन्यो । लियोनले घरेलु मैदानमा भएको पहिलो लेग १–० ले जितेको थियो ।

पहिलो लेग १–० ले जितेको लियोनले दोस्रो लेगको १२ औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको थियो । कप्तान मेम्फिस डिपाएले पेनाल्टीमा गोल गर्दै लियोनलाई सुदृढ अवस्थामा पुर्याएका छन् । युभेन्टसका मिडफिल्डर रोड्रीगो बेन्टान्कुरले हुसेम औआरलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

त्यसअघि खेलको आठौं मिनेटमा लियोनका मिडफिल्डर हुसेम औआरको प्रहारलाई गोलरक्षक वोज चिएक सेचेज्नीले बचाउँदै कर्नर बनाए । लगत्तै रोनाल्डोको प्रहार बाहिरीएपनि उनी अफसाइड ठहरिएका थिए ।

१९ औं मिनेटमा युभेन्टसले खेलमा फर्कने सुवर्ण अवसर गुमायो । फेडेरिको बर्नार्डेस्कीले तीन डिफेन्स र गोलरक्षक समेतलाई छलाएर गोल गर्न नजिक पुगेको अवस्थामा मार्सेलोले अन्तिम समयमा उत्कृष्ट ट्याकल गर्दै सम्भावित गोल टारे ।

२० औं मिनेटमा एलेक्स सान्ड्रोको क्रसमा क्रिस्टियानो रोनाल्डोको हेडरले पोस्टको दिशा लिन सकेन । ३५ औं मिनेटमा रोनाल्डोले झन्डै ३० यार्ड टाढाबाट गरेको फ्रिकिक वालमा लागेर फर्कियो । लगत्तै जुआन क्वाडराडोको क्रसमा हिगुआइनको हेडरलाई गोलरक्षक लोपेसले दोस्रो प्रयासमा बचाए ।

४० औं मिनेटमा युभेन्टस खेल बराबरीमा ल्याउने अवसरबाट चुक्यो । पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त फ्रिकिकमा रोनाल्डोको प्रहारलाई गोलरक्षक लोपेसले सानदार बचाउ गरेका थिए । लगत्तै मिरालेम प्यानिचले त्यस्तै स्थानबाट प्रहार गरेको फ्रिकिकमा युभेन्टसले पेनाल्टी प्राप्त गर्यो ।

प्यानिचको फ्रिकिकले वालमा बसेका कप्तान मेम्फिस डिपाएको हातमा लागेपछि इटालियन टोलीले पेनाल्टी प्राप्त गरेको थियो । उक्त पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए ।

दोस्रो हाफको ५२ औं मिनेटमा प्यानिचको लामो फ्रिकिकलाई गोलरक्षक लोपेसले पन्च गरिदिए । ५७ औं मिनेटमा लियोनका ब्रुनो गुइमारेसले झन्डै ३० यार्ड टाढाबाट गरेको प्रहार आकासियो ।

खेलको ६० औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । पेनाल्टी क्षेत्रको बाहिरबाट रोनाल्डोले बायाँ खुट्टाले गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक लोपेसले बचाउने प्रयास गरेपनि उनको हातमा लाग्दै गोलमा परिणत भएको थियो ।

६४ औं मिनेटमा युभेन्टसका डिफेन्डर लिओनार्डो बोनुचीको हेडरले पोस्टको दिशा लिन सकेन । त्यसको चार मिनेटपछि नै अनमार्क रहेका गोन्जालो हिगुआइनको हेडर पनि पोस्टभन्दा थोरैले बाहिरियो । ७५ औं मिनेटमा रोनाल्डोको हेडरले पोस्टको दिशा लिन नसक्दा युभेन्टस समग्रमा अग्रता लिनबाट चुक्यो ।

युभेन्टसले चोटबाट संघर्ष गरिरहेका अर्जेन्टिनी फरवार्ड पाउलो डिबालालाई मैदान प्रवेश गराएपनि उनी पुनस् चोटका कारण २० मिनेटभन्दा बढी खेल्न सकेनन् । खेलको ८९ औं मिनेटमा युभेन्टस काउन्टर अट्याकमा अगाडि बढेपनि फर्नान्डो मार्सालले ड्यानीलोलाई लडाउँदै युभेन्टसको आक्रमणमा ब्रेक लगाए । इन्ज्युरी समयको दोस्रो मिनेटमा रोनाल्डोको फ्रिकिक वालमा लागेर बहिरिंदा युभेन्टसले समग्रमा अग्रता लिने अवसर गुमायो ।

लियोनले अब क्वाटरफाइनलमा म्यानचेष्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ । म्यानचेष्टर सिटी रियल मड्रिडलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.