Nepal Times
Nepal Times
3
Shares

लकडाउनमा काठमाडौंदेखि बन्दीपुरको यात्रामा देखिएका दृश्य

लकडाउनमा काठमाडौंदेखि बन्दीपुरको यात्रामा देखिएका दृश्य

२८ चैत, काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) को संक्रमणबाट जोगिन सरकारले लकडाउन घोषणा गरेको छ । सरकारले लकडाउन घोषणा गरेको तेस्रो हप्ता सुरु हुँदासम्म काठमाडौं उपत्यकामा अवज्ञा गर्ने सयौँलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अत्यावश्यक कामको बाहनामा लकडाउन उलंङ्घन गर्नेको संख्या राजधानीमा बढेको छ ।

राजधानीमै संघीय सरकारले घोषणा गरेको लक डाउनको पालना नहुँदा स्थानीय स्तरमा भने जनता निकै सजग र सचेत देखिएका छन । काठमाडौं बाहिर सामाजिक दुरी कायम गर्दै लक डाउनको पूर्ण पालना भएको देखियो । राजधानी काठमाडौंबाट स्थलगत रिपोर्टिङका लागि बन्दिपुर सम्म पुग्दा राजमार्ग सुनसान देखिन्छ ।

ग्यास, खाद्यान्न बोकेका केही गाडीहरु चलेपनि राजमार्ग वरिपरिका होटलहरु बन्द छन् । त्यति मात्रै होइन राजमार्ग वरिपरिका घर अगाडी तारबार नै गरिएको छ । कोरोनाविरुद्ध लड्न स्थानीय कति सचेत भएर अगाडी बढिरहेका छन् भन्ने कुराको प्रमाण यो राजमार्गमा बढेका तस्वीरहरुले देखाउछन । स्थानीयहरुले हामीसँग खुलेर कुरा गर्न नचाहेपनि सामाजिक दुरी कायम गर्नकै लागि तारबार गरिएको बताए । राजमार्गमा खाद्यान्न, डिजेल, पेट्रोल तथा ग्यास बाकेका र अन्य मालवाहक सवारी सञ्चालन भइरहेका छन् ।

स्थानीय—स्थानीयहरुले मात्रै होइन गाउँ—गाउँबीच पनि सामाजिक दुरी कायम गरेको दृश्य देखिन्थ्यो । एक गाउँबाट अर्को गाउँमा अनावश्यक रुपमा कोही आवत जावत नगरुन भनेर पुलमा बार लगाइएको छ । सूचना टाँस गरेर नै एक ठाउँबाट अर्को ठाउँमा अनावश्यक रुपमा आवतजावत नगर्न भनिएको छ । सूचनामा लेखिएको छ, ‘‘यस वुटार चुमरखोल जोड्ने पुलमा अत्यावश्यक र भैपरी आउने समस्या बाहेक आवत जावत गर्न पाइने छैन्, किराना पसलमा सामान खरिद गर्द एकमुष्ट खरिद गर्ने र पटक पटक हिडडुल नगर्ने, लक डाउनको पूर्ण पालना गर्ने, सार्वजनिक स्थल पूर्ण रुपमा सफा गर्ने र कुनै पनि खेलकुदका गतिविधि सञ्चालन नगर्ने ।

सरकारले घोषणा गरेको लक डाउनको भोलिपल्ट देखि नै पुल बन्द गरिएको गण्डकी गाउँपालिका २ दह भञ्ज्याङका स्थानीय गगनबहादुर थापाले बताए । सो पुल भएर फुजेल, साधिखोला, ताँग्रीचोक, दह भञ्ज्याङ, फुर्केडाडाँ लगायतका गाउँमा पुग्न सकिने उनको भनाई छ । अत्यावश्यक काम र दैनिक उपभोग्य सामान किन्नका लागि मात्रै पुल खुल्ने गरेको उनको भनाई छ ।

चितवनको इच्छाकामना गाउँपालिका र तनहुँको आँबु खैरेनी गाउँपालिकाले ठाउँठाउँमा स्वास्थ्य सहायता कक्ष स्थापनगरी स्थानीय, सवारी चालक तथा अन्य व्यक्तिहरुको ज्वरो नाप्ने गरेको देखियो । एक दिनमा करिब १ सय जनाको तापक्रम (ज्वरो) नाप्ने गरेको इच्छाकामना गाउँपालिका कुरिनटारमा रहेको सहायता कक्षमा रहेका सिनियर अहेब चन्द्रबहादुर गुरुङले बताए । बागमती प्रदेश प्रवेश गर्ने पश्चिमको मुख्य नाकामा स्थापना भएको सो स्वास्थ्य सहायता कक्षबाट पैदलयात्री, मोटरसाइकल चालक र अन्य सवारी चालक तथा कर्मचारीको तापक्रम नाप्ने र कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण देखिएमा थप निगरानी गर्ने गरिएको उनले बताए ।

गाउँमा कोरोना भाइरस विरुद्ध लड्न स्थानीय प्रतिवद्ध त छन तर होटल व्यवसायीहरुलाई भने चिन्ता पनि थपिएको छ । पर्यटक आउने मुख्य सिजनमै भाइरस देखिनु र लक डाउनका कारण व्यवसाय नै चौपट हुने डर उनीहरुमा छन् । लक डाउनले धेरै असर गरेको बन्दीपुरका एक होटल व्यवसायी नानु श्रेष्ठले बताए । माघ फागुनबाट पर्यटक आउने सिजन सुरु भएपनि यहि समयमा भाइरस देखा परेपछि ठूलो असर गरेको उनको भनाई छ । बाह्य पर्यटक आउने सम्भावना तत्काल नभएपनि कोरोनाको भाइरस संक्रमणको जोखिम कम भएपछि आन्तरिक पर्यटक आउने विश्वास उनले व्यक्त गरे ।

काठमाडौं छिर्ने मुख्य नाकामा समेत चेकजाँचमा कडाई गरिएको छ । चन्द्रागिरी नगरपालिकाले उपत्यका छिर्ने मुख्य नाकाबाट आवतजावत गर्ने सवारी चालकहरुको लागत राख्ने र तापक्रम नाप्ने व्यवस्था मिलाएको छ । सिमित स्रोत साधनकाबीच स्थानीय तहहरुले कोरोना विरुद्ध लड्न भरपुर प्रयास गरिरहेका छन् । संघीय सरकारले स्थानीय तहहरुमा पर्याप्त स्वास्थ्य सामग्री दिने र अझै प्रोत्साहनका कार्यक्रम घोषणा गरेर अगाडी बढ्न सके गाउँ गाउँबाट कोरोना संक्रमणको जोखिम र त्रासलाई निर्मुल पार्न सहयोग पुग्नेछ ।

 

 

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.