Nepal Times
Nepal Times
3
Shares

लयमा आउँदै पर्वतारोहण : सगरमाथा चढ्न तीन सयको ‘बुकिङ’

लयमा आउँदै पर्वतारोहण : सगरमाथा चढ्न तीन सयको ‘बुकिङ’

काठमाडौँ : कोरोना सङ्क्रमणका कारण गत वर्ष मुख्य सिजनमै असर बेहोरेको नेपालको पर्वतारोहणमा यस वर्ष भने सुधारको सङ्केत देखिएको छ । विदेशी पर्यटकलाई नेपाल प्रवेशबापत अझै पनि क्वारेन्टिन बस्नुपर्ने प्रावधानका कारण अन्य पर्यटकीय गतिविधि खुम्चिए पनि पर्वतारोहणमा भने पर्यटकको चासो बढेको देखिन्छ ।

नेपालको पर्वतारोहणमा मुख्य सिजन मानिने वसन्तयाम (अप्रिल र मे)का लागि यतिबेला ‘बुकिङ’ चलिरहेको नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङ छिरिङ शेर्पाले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय जना आरोहीहरूले बुकिङ गरिसकेका छन् ।

पर्वतारोहणका लागि तुलनात्मक रूपमा लामो समय खर्चिनुपर्ने भएकाले क्वारेन्टिनको प्रावधान यसका लागि त्यति बाधक नहुँदा पनि आकर्षण बढेको शेर्पाको भनाइ छ । सगरमाथाबाहेक अन्य हिमालमा पनि आरोहीहरूको चासो रहेको उहाँले बताउनुभयो ।

सरकारले कोरोना सङ्क्रमणकै अवस्थामा मन्त्रिपरिषद्बाटै बहराइनका राजकुमारसहितको टोलीलाई मनास्लु हिमाल आरोहणको अनुमति दिएको थियो । टोलीले गत असोज २९ गते मनास्लु हिमालको सफल आरोहण गरेको थियो । कोरोना सङ्क्रमणयता भएको उक्त आरोहण नै विदेशी टोली सम्मिलित पहिलो आरोहण थियो ।

त्यसपछि कतारका राजकुमारसहितको टोलीले कात्तिक २६ गते अमादब्लम हिमालको आरोहण गरेको थियो । राजपरिवार सदस्यकै चासोले पनि कोरोनाकै अवस्थामा पर्वतारोहणका गतिविधि सुरु भएको थियो ।

मुख्य सिजनमा पर्वतारोहण हुन नसके पनि पर्यटन विभागले हिउँदयामका लागि भने अनुमति खुला गरेको थियो । विभागको पछिल्लो तथ्याङ्क अनुसार हिउँदयामको पर्वतारोहणका लागि अहिलेसम्म ४५ जनाले अनुमति पाइसकेका छन् । यसबीचमा लुजा पिक, क्युङ्ग्या रीप् टु, अमादब्लम, सुर्मा सरोवर, रोकापी, मनास्लु, थापा पिक, चुक्युमा हिमाल आरोहणका लागि अनुमति प्रदान गरिएको विभागले जनाएको छ ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.