Nepal Times
Nepal Times
3
Shares

ललितपुरमा बिना स्वीकृति साइकल लेन

ललितपुरमा बिना स्वीकृति साइकल लेन

ललितपुर: ललितपुर महानगरपालिकाले साइकलका लागि छुट्टै लेनको निर्माण सुरु गरेको छ तर त्यसका लागि सडक विभागले स्वीकृति भने दिएको छैन ।

महानगरपालिकाले काठमाडौँ र ललितपुर जोड्ने मुख्य सडकका रूपमा रहेको थापाथली–पुल्चोक–जावलाखेल–लगनखेल–मङ्गलबजार खण्डमा साइकल चलाउने गरी छुट्टै लेनको निर्माण सुरु गरेको हो । सो सडकखण्ड सडक विभाग अन्तर्गत रहेको छ । सो सडकखण्डको लम्बाइ करिब दस किलोमिटर छ ।

ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले सो सडकखण्डमा साइकल लेन निर्माण गरी साइकल सञ्चालनका लागि सडक विभागसँग पटकपटक लिखित अनुमति माग गर्दा पनि विभागबाट अनुमति प्राप्त हुन नसकेको गुुनासो गर्नुभयो ।

सडक विभागले भने महानगरपालिकाले आफूूखुसी साइकल लेन निर्माण गरेको भनाइ छ । सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटाले ललितपुर महानगरपालिकाले सडक विभागको अनुमतिविना नै आफूखुसी मुख्य सडकमा साइकल लेनको तयारी गरिरहेको बताउनुभयो । उहाँले सो सडकखण्डमा विभागको अनुमतिविना साइकल चलाउन नमिल्ने स्पष्ट पार्नुभयो । साइकल लेनका लागि सडकको दुवैतिर डेढ डेढ मिटर छुट्याइएको छ ।

‘‘काठमाडौँ र ललितपुर जोड्ने थापाथली–पुल्चोक–जावलाखेल–लगनखेल–मङ्गलबजार क्षेत्रको सडक फराकिलो बनाउने सम्भावना छैन’’, उपमहानिर्देशक सापकोटाले थप्नुभयो, ‘‘साँघुरो र व्यस्त सडकमा दायाँबायाँ साइकल लेन बनाएर सडकलाई थप साँघुरो बनाउने गरी अनुमति दिन सकिँदैन ।’’

अहिलेकै सवारीसाधनको चापलाई थेग्न नसकेको सो सडकखण्डमा झन् साइकल लेन बनाउँदा बढ्न सक्ने जोखिम र दुर्घटनाको दायित्व समेत सडक विभागलाई नै हुने भएकाले यस सम्बन्धमा विभागले थप अध्ययन र छलफल गरेर मात्र अगाडि बढ्न सक्ने उहाँले स्पष्ट पार्नुभयो ।

महानगरले भने सहरलाई अझ व्यवस्थित बनाउन साइकल लेन बनाएको दाबी गरेको छ । ‘स्वच्छ र सफा महानगर’ कार्यक्रम अन्तर्गत महानगरको विभिन्न रुटमा साइकल लेन निर्माण गर्ने कार्यक्रम अगाडि बढाइएको बताउँदै महानगर प्रमुख महर्जनले वातावरण र नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको यो कार्यक्रमलाई सफलतापूर्वक अगाडि बढाउनमा सम्बन्धित सबै निकायको सहयोग आवश्यक रहेको बताउनुभयो ।,याे समाचार गाेरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.