१२ बैशाख, एजेन्सी । युरोपतर्फ हिँडेका १०० भन्दा बढी आप्रवासीहरु लिबियाको तटीय जलक्षेत्रमा डुबेको स्वतन्त्र उद्धार समूह तथा राष्ट्रसंघीय आप्रवासन एजेन्सीले बताएका छन् ।
आजभोलि मौसम केही न्यानो भएकाले आप्रवासीहरु भूमध्यसागर पार गरेर अवैध रुपमा युरोपतर्फ प्रस्थान गर्ने गर्दछन् ।
मानवीय सहायता संस्थाहरुले आप्रवासीको जीवन रक्षा गर्न लिबियाली तटीय रक्षक र युरोपेली अधिकारीहरु अक्षम रहेको आरोप लगाएका छन् । एक जना लिबियाली तट रक्षक अधिकारीले आफूहरुले डुङ्गाको खोजी गरेको तर सीमित स्रोतसाधनका कारण सम्भव नभएको प्रतिक्रिया दिए ।
ओसन भाइकिङ नामको उद्धार जहाज चलाउने एसओएस मेडिटेरिनीले बिहीबार करिब १३० जना सवार डुबेको रबर डुङ्गा लिबियाको राजधानी त्रिपोलीको उत्तरपूर्वी भूमध्यसागरमा देखा परेको जनाएको छ ।
उद्धारकर्ताहरुले दुर्घटना भएको ठाउँमा १० जनाको शव बाहेक अरु कसैलाई पनि भेट्टाउन सकेका थिएनन् ।