Nepal Times
Nepal Times
3
Shares

लुम्बिनीका कोरोना अस्पताललाई प्रदेश सरकारले एक करोड ७५ लाख बजेट दिने

लुम्बिनीका कोरोना अस्पताललाई प्रदेश सरकारले एक करोड ७५ लाख बजेट दिने

१४ वैशाख, बुटवल । अस्पतालमा अक्सिजनयुक्त बेड अभावमा कोरोना संक्रमितले उपचार नपाएपछि चौतर्फी आलोचित बनेको लुम्बिनी प्रदेश सरकारले चारवटा कोरोना विशेष अस्पताललाई एक करोड ७५ लाख रुपैयाँ बजेट दिने निर्णय गरेको छ ।

प्रदेश सरकारले एक वर्षअघि नै कोरोना विशेष अस्पतालहरुमा एचडीयू बेड थप्ने निर्णय गरेपनि कार्यान्वयन नहुँदा संक्रमितले उपचार पाउन सकेका छैनन् ।

कोरोना उपचार तथा रोकथाम कोष निर्देशक समितिको बैठकले बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, दाङको बेलझुण्डीस्थत अस्पताल र भेरी अस्पताल नेपालगञ्जलाई ५० लाख रुपैयाँका दरले र भैरहवास्थित भीम अस्पताललाई २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

यो बजेट अन्य शीर्षकबाट रकमान्तर गरी यथाशीघ्र उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री बैजनाथ चौधरीले बताए । उनका अनुसार सम्बन्धित मन्त्रालयले एक दुई दिनमै उक्त बजेट उपलब्ध गराउने छ ।

यस्तै कोरोना रोकथाम तथा उपचार कोषमा प्रदेश सरकारले १० करोड रुपैयाँ थप गर्ने निर्णय पनि गरेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा औसत दैनिक ७ सयजना कोरोना सक्रमित थपिंदै गएका छन् ।

हाल उपचाररत करिब २ सयजना संक्रमितमा गम्भीर स्वास्थ्य समस्या देखिएका छ । अस्पतालमा बेड नहुँदा संक्रमितलाई अन्यत्र रिफर गर्नु पर्ने बाध्यता रहेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनालले बताए ।

लुम्बिनी प्रदेशका ७ वटा निजी अस्पतालले ३३४ बेड कोरोना संक्रमितको लागि छट्टाएको भनेपनि उपचारको लागि बेड उपलब्ध गराएका छैनन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.