Nepal Times
Nepal Times
3
Shares

वडाध्यक्ष भएपछि पाएको पाँच लाख सेवासुविधा सामाजिक कार्यमा खर्चिने घोषणा

वडाध्यक्ष भएपछि पाएको पाँच लाख सेवासुविधा सामाजिक कार्यमा खर्चिने घोषणा

५ मंसिर, इलाम ।

इलाम नगरपालिका–७ का वडाध्यक्ष नरेश श्रेष्ठले वडाध्यक्षमा निर्वाचित भएपछि हालसम्म प्राप्त गरेको सेवा सुविधा बापतको रकम सामाजिक कार्यमा खर्चिने घोषणा गरेका छन् ।

इलामको गजुरमुखीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले हालसम्म कानुन बमोजिम प्राप्त गरेको रकम सामाजिक कार्यमा खर्चिने घोषणा गरेका हुन् ।

उनले नगरपालिकाबाट अहिलेसम्म सेवा सुविधा बापत पाँच लाख रुपैयाँ खातामा जम्मा भएको बताए । त्यसमध्ये दुई लाख रुपैयाँ माइस्थान मन्दिर क्षेत्र विकास समितिको अक्षय कोषमा जम्मा गर्ने बताए ।

अक्षय कोषबाट प्राप्त रकम इलाम बजारमा रहेका परेवाको चारो व्वयस्थापनमा खर्च हुने गरेको छ । बाँकी दुई लाख रुपैयाँ भने नेपाली कांग्रेसको जिल्ला कार्यालय भवन निर्माणका लागि दिने श्रेष्ठले घोषणा गरे । कांग्रेस इलामको आफ्नो कार्यालय भवन छैन । कांग्रेसले भवन निर्माण गर्ने तयारी गरिरहेको छ ।

बाँकी रहेको एक लाख रुपैयाँ भने कांग्रेसको चालु महाधिवेशन र विभिन्न पालिकाहरुलाई सहयोग गरेको श्रेष्ठले बताए । आफू जनताको सेवाका लागि जनप्रतिनिधि भएको र जनताको सेवा गरे बापत सुविधा नलिने घोषणा गरेकाले कानुन बमोजिम प्राप्त रकम सामाजिक कार्यमा खर्चिएको उनले बताए ।

‘सेवा सुविधाका लागि जनप्रतिनिधि लिप्त हुनु हुँदैन, कानुन बमोजिम मेरो खातामा रकम जम्मा भयो,’ उनले भने, ‘त्यो रकम आफूले खर्च नगरेर मन्दिरको अक्षय कोष र पार्टीको लागि खर्च गर्ने निर्णय गरेको हुँ ।’

कांग्रेसका पूर्व सभापति केशव थापाले श्रेष्ठले महानता प्रकट गरेको टिप्पणी गरे । ‘सबैले गर्नुपर्छ भनेर म भन्दिनँ, सक्नेले गर्नुपर्छ,’ उनले भने, ‘यो एउटा महानता हो, यस्तो मान्छे थोरै हुन्छन् ।’

श्रेष्ठले नगरपालिकाबाट यातायात सुविधा लिएका छैनन् । इलाम नगरपालिकाले वडाध्यक्षलाई मोटरसाइकल उपलब्ध गराएको छ । श्रेष्ठ २०४६ देखि विद्यार्थी राजनीतिबाट कांग्रेसँग जोडिएका हुन् । तरुण दल इलामका अध्यक्षसमेत रहेका श्रेष्ठ इलाम निर्वाचन क्षेत्र २ को क्षेत्रीय सभापतिका आकांक्षी हुन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.