३० भदौ, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणका कर्मचारीले औपचारिक बिदाइ गरेका छन् । चार वर्षे कार्यकाल सोमबार पूरा गरेपछि मंगलबार प्रधिकरणमा आयोजित कार्यक्रममा कर्मचारीहरुले घिसिङको बिदाइ गरेका हुन् । त्यस क्रममा प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङलाई बुद्धको मूर्ति उपहारस्वरुप दिएका छन् ।
विदाई कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले एउटै व्यक्ति एउटा जिम्मेवारीमा सधै रहिरहनुपर्छ भन्ने नभएको बताए। उनले केही पनि विकल्परहित नरहेका बताए । घिसिङले भने– ‘हिजो विद्युत प्राधिकरणमा को आयो को गयो कसैलाई थाहा हुँदैन थियो। अहिले कार्यकारी निर्देशकको पोष्टको चर्चा आएपछि प्राधिकरणको इज्जत बढेको ठान्नु पर्छ। यो विषय हाम्रो लागि राम्रो हो । कार्यकारी निर्देशक आउने जाने हुन्छ। एउटा व्यक्ति सधै रहिरहनुपर्छ भन्नेमा म छैन। विकल्परहित केही हुँदैन।’
घिसिङले प्राधिकरणमा आफू रहदा हिजोको भन्दा बढी काम भएको बताए। कर्मचारीलाई सुविधा बढाउनेदेखि अन्धकार नेपाललाई उज्यालो नेपाल बनाएको विषयको घिसिङले सम्झना गरेका छन्। भाषणको क्रममा घिसिङले २०७३ सालको लक्ष्मीपूजाको दिन लोडसेडिङ अन्त्य भएको घोषणा गरेको सम्झनासमेत गरे। उनले यो प्रयासले नै लोडसेडिङ अन्त्य गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेकोसमेत प्रष्ट पारे।
कार्यक्रममा आधिकारिक ट्रेड युनियन नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष रामेश्वोर पौडेलले कुलमान घिसिङको कार्यकालमा प्राधिकरणको कायापलट हुने गरी विकास गरेको धारणा राखे । उनले प्राधिकरणको विकास गर्न सफल भएकोमा सरकारले पुनः घिसिङलाई नियुक्ति गर्नेछ भन्ने आशा बाँकी नै रहेको बताए । उनले भने– ‘हामीले पहिलो कार्यकालका रुपमा आज उहाँको बिदाइ गर्दैछौ । अबको १५ दिनभित्र फेरि स्वागत गर्न पाइयोस् । ’
बिदाइ मन्तब्य राख्दै उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले कुलमानलाई कार्यकारी निर्देशकको कार्यकाल पूरा भएको उपलक्ष्यमा मात्र नभैई प्राधिकरणमा २६ बर्ष सेवा पूरा गरेको अवसरमा बिदाइ गरिएको बताए ।
२०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिँदै गर्दा अब प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने टुंगिएको छैन ।