Nepal Times
Nepal Times
3
Shares

विदेशमा अलपत्र नेपालीकाे निःशुल्क उद्धारका लागि ७५ करोड

विदेशमा अलपत्र नेपालीकाे निःशुल्क उद्धारका लागि ७५ करोड

काठमाडौँ : सरकारले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका र घर फर्कन टिकट काट्न नसक्ने नेपालीको निःशुल्क उद्धार प्रक्रिया थालेको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले निःशुल्क उद्धार निर्देशिका अनुसार श्रम स्वीकृति लिएर विदेश गएर अलपत्र परेका नागरिकको उद्धारका वैदेशिक रोजगार कल्याणकारी कोषको ७५ करोड रुपियाँ रकम छुट्याइएको छ ।

बोर्डका सूचना अधिकारी दीनवन्धु सुवेदीले निर्देशिकाअनुसार बजेट छुट्याइएको र परराष्ट्र मन्त्रालयमार्फत दूतावासले पठाउने विवरणका आधार बोर्डले कोषको रकम दूतावासमा निकासा गरिने जानकारी दिनुभयो । विदेशमा रहेका नेपाली दूतावासले कोरोनाका कारण समस्यामा परेका नेपाली श्रमिकलाई यथार्थ विवरणसहित आवेदन लिन सुरु गरेकाले अर्को सातादेखि रकम माग आउने पनि उहाँले जानकारी दिनुभयो । वैदेशिक रोजगार कल्याणकारी कोषको रकममार्फत नेपाली श्रमिक स्वदेश फर्काउन सरकारले जारी गरेको निर्देशिकाको मापदण्डभित्र रहेका श्रमिकलाई आवेदन दिन दूतावासहरूले आग्रह गरेका छन् ।

कोरोना महामारीका कारण विदेशमा रोजगारी गुमाएका र घर फर्कन टिकट काट्न नसक्ने अवस्थामा रहेकाको वैदेशिक रोजगार कल्याणकारी कोषको रकममार्फत उद्धार गर्ने निर्णयअनुसार सरकारले तोकेको मापदण्डमा पर्ने श्रमिकको उद्धारका लागि दूतावासले सूचना जारी गर्न थालेका छन् ।

ओमान र मलेसियामा प्रक्रिया सुरु
मलेसिया र ओमानमा रहेका नेपाली दूतावासले विदेशबाट आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने अवस्थाका श्रमिकको तथ्याङ्क सङ्कलन सुरु गरेका छन् । ती दूतावासले रोजगारी गुमेर घर फर्कन टिकट काट्न नसकेका श्रमिकलाई आवेदन दिन अनुरोध गरेका छन् ।

दूतावासका अनुसार तोकेको निवेदन ढाँचाअनुसार आफ्नो विवरण भरेर दूतावासमा उपस्थित भएर वा इमेल वा हटलाइन वा ह्वाट्स एपमार्फत निवेदन पेस गर्न सकिने पनि व्यवस्था गरेका छन् । निवेदकलाई निवेदन दिँदा राहदानी र रोजगारी करार पत्रको प्रतिलिपिसँगै पेस गर्नसमेत दूतावासले आग्रह गरेका छन् ।

साउदी अरबमा रोजगार व्यवसायी परिचालन
यसैबीच साउदी अरबस्थित नेपाली दूतावासले कोरोनाका कारण धेरै नेपाली श्रमिक समस्यामा परेकाले त्यसको समाधान गर्न इजाजतवाला वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई आग्रह गरेको छ । नेपालका केही म्यानपावर कम्पनीले समस्यामा परेका श्रमिकप्रति निर्वाह गर्नुपर्ने जिम्मेवारी पूरा नगरेकामा आपत्ति जनाउँदै आफ्नो दायित्व जिम्मेवारीसाथ वहन गर्न पनि दूतावासले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।, यो सामाचार आजको गोरखापत्र दैनिकमा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.