१३ असोज, एजेन्सी । नाइजेरियाको एक ‘यातना गृह’ बाट प्रहरीले झण्डै पाँच सयजना युवा तथा बालक र किशोरहरुलाई उद्धार गरेको छ । नाइजेरियाको कादुनामा रहेको भवनमा बन्धक अवस्थामा रहेका युवा, बालक तथा किशोरहरुलाई प्रहरीले उद्धार गरेको हो ।

‘यातना गृह’ बाट बाहिर आउन सफल भएकाहरुले त्यहाँको अवस्था अति दर्दनाक र त्यहाँको जीवन दन्किरहेको आगोेमा बस्नु जस्तै रहेको बताएका छन् । २९ वर्षका इरा इब्राहिमले भनेका छन्, ‘प्राथना गरे पनि कुट्छन् । पढे पनि उनीहरुले कुट्छन् ।’
प्रहरीले सो ठाउँ मानवलाई दासका रुपमा राखिएको जस्तो बताएको छ । त्यहाँ रहेका धेरै बन्धकलाई फलामको साङ्ग्लोले बाँधिएको थियो । केही पीडितलाई गम्भीर तहको यातना दिइ यौन शोषण गरेको पाइएको सरकारी अधिकारीले बताएका छन् ।
बन्धकका रुपमा राखिएको भवन विद्यालयका रुपमा प्रयोग गरिएको स्थान हो । मुख्य गरी मुस्लिम समुदायको बसोबास रहेको नाइजेरियामा आर्थिक रुपले विपन्न परिवारले आफ्ना सन्तानले शिक्षा पाउने आशमा यस्ता ठाउँमा पठाउने गर्छन् । तर उनीहरुले शिक्षा पाउनुको साटो गम्भीर यातना भोग्ने गरेका छन् । नाइजेरियाको उत्तरी क्षेत्रमा रहेको भवनबाट पाँच सय जनाको उद्धार भए पनि यस्तै यातना गृह अरु पनि हुन सक्ने जनाइएको छ ।
प्रहरीले छापा मारेको कादुनाको भवनको मुल ढोकामा अहमद बिन हम्बाल सेन्टर फर इस्लामिक टिचिङ्ग लेखिएको छ । यो ठाउँमा व्यवहारगत समस्या भएका किशोरहरुको पुनर्स्थापना केन्द्रका रुपमा पनि प्रयोग गर्ने गरिएको थियो । अमानवीय व्यवहार भएको सो सेन्टरलाई कुनै पनि हालतमा इस्लामिक स्कूलका रुपमा स्वीकार गर्न नसकिने कादुना राज्यका प्रहरी प्रवक्ता याकुबु साबोले समाचार संस्था रोयटर्ससँग बताएका छन् ।
प्रहरीले सातजनालाई पक्राउ गरेको छ । सरकारले घटनाका सम्बन्धमा विस्तृत अध्ययन गरिने बताएको छ।