Nepal Times
Nepal Times
3
Shares

विद्युत खपत बढाउन १० हजार विद्युतीय चुलोमा अनुदान

विद्युत खपत बढाउन १० हजार विद्युतीय चुलोमा अनुदान

२२ माघ, काठमाडौं ।
सरकारले विद्युत खपत बढाउन अनुदान दिएर १० हजार विद्युतीय चुलो प्रवद्र्धन गर्ने भएको छ । सबै नेपालीमा आधुनिक ऊर्जाको पहुँच पुर्याउने लक्ष्य पूरा गर्न पहिलो चरणमा तराईका जिल्लामा विद्युतीय चुलो प्रवद्र्धन अभियानको थालनी गर्न लागिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रअन्तर्गत ७५ हजार घरधुरीमा स्वच्छ ऊर्जाको पहुँच पुर्याई गुईंठा प्रतिस्थापन गर्ने अभियानका क्रममा विद्युतीय चुलो प्रवद्र्धन गरिनेछ । पहिलो वर्ष अनुदान दिएर १० हजार विद्युतीय चुलो प्रवद्र्धन गरिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले बताए । राष्ट्रिय विद्युतीय चुलो प्रवद्र्धन अभियान थालनी भएको एक वर्ष पूरा भएको अवसरमा बोल्दै उनले आगामी वर्ष यो संख्या बढाएर १ लाख पुर्याउने बताए ।

उनले उपभोक्तामा जनचेतनाको स्तर बढ्दै गएकाले आयातित ग्यास प्रतिस्थापन गर्न विद्युतीय चुलोको प्रयोग बढ्दै गएको बताए । बढी विद्युत खपत गर्ने उपभोक्ताको महसुल दर कम बनाउन विद्युत महसुल समायोजन गर्ने प्रस्ताव विद्युत नियमन आयोगमा पठाएको उनले बताए । आन्तरिक विद्युत खपत बढाउन उपभोक्ताको हित हुने गरी महसुल समायोजनको प्रस्ताव लगेको उनले बताए ।

मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले विद्युतको माग र आपूर्ति व्यवस्थापन सहज हुँदै गएकाले सरकारले विद्युत खपत बढाउने नीति लिएको बताए । उनले आन्तरिक विद्युत खपत बढाउनकै लागि विद्युतीय चुलो प्रवद्र्धन गर्ने अभियानको थालनी गरेको बताए ।

‘३ वर्षभित्र प्रणालीमा ५ हजार मेगावाट पुग्दैछ,’उनले भने, ‘आन्तरिक खपत तत्काल बढाउन विद्युतीय चुलोको प्रयोग बढाउनु नै पहिलो विकल्प भएको छ ।’ उनले भन्सार छुटको व्यवस्था गरेर विद्युतीय चुलोको संख्या बढाउनु पर्नेमा जोड दिए ।

आन्तरिक विद्युत खपत बढाउन तथा सन् २०३० भित्र सबै नेपालीमा स्वच्छ ऊर्जाको पहुँच पुर्याउने सरकारी लक्ष्य पूरा गर्न सुरु भएको अभियान अन्तर्गत एक वर्षमा विभिन्न जिल्लामा १ हजार बढी विद्युतीय चुलो वितरण गरिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.