Nepal Times
Nepal Times
3
Shares

विश्व बैंकको नयाँ प्रक्षेपणः यो वर्ष नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने अनुमान

विश्व बैंकको नयाँ प्रक्षेपणः यो वर्ष नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने अनुमान

१८ चैत, काठमाडौँ । कोभिड–१९ विरुद्धको खोपको वितरण र उक्त अभियानले सिर्जना गरेको सहज गतिविधिका कारण अर्थतन्त्रमा तीव्र सुधारको संकेत देखिएको छ ।

विश्व बैंकले बुधबार दक्षिण एसियाली भेगको कुल गार्हस्थ उत्पादनबारे नयाँ प्रक्षेपण सार्वजनिक गर्दै चालु आर्थिक वर्ष भित्रै अर्थतन्त्रमा ‘भीसेभ’को सुधार देखिने उल्लेख गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर माइनस १.९९ प्रतिशत कायम भएको थियो ।

यसमा तीब्र गतिमा सुधार हुने संकेत गर्दै विश्व बैंकले यो वर्ष २.७ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहने अनुमान गरेको हो । तर, यो वृद्धिदरसमेत सरकारको अनुमान भन्दा भने निकै कम हो ।

कोरोना महामारीका बीचमा समेत सरकारले यो वर्ष ७ प्रतिशत हाराहारीको वृद्धिदरको पूर्वानुमान गरेको छ ।

विश्व बैंकले यसअघि गत जनवरी र सन् २०२० को अक्टोवरमा गरेका पूर्वानुमानमा समेत संशोधन गरेको छ । संशोधन अनुसार नेपालको आर्थिक वृद्धिदर अनुमान गरेभन्दा छिटो पुनरुत्थानको बाटोमा देखिएको छ ।

आगामी आर्थिक वर्ष २०७८/७९ मा १.४ प्रतिशतको मात्र वृद्धिदर हुने अनुमान जनवरीमा भएको थियो । तर, यसमा सुधार गर्दै विश्व बैंकले सो आवमा ३.९ प्रतिशतसम्म वृद्धिदर रहने अनुमान गरेको छ ।

त्यसपछिको आव २०७९/८० मा भने नेपालले ५.१ प्रतिशतको वृद्धिदर कायम गर्न सक्नेछ । यो करिब कोरोना महामारी भन्दा अगाडिकै अवस्था हो ।

नयाँ प्रक्षेपण अनुसार सन् २०२१ मा दक्षिण एसियाली मुलुकको समग्र आर्थिक वृद्धिदरमै सुधारको लहर आउने छ । यसमा ठूलो भूमिका भारतको रहने छ ।

सन् २०२० मा माइनस ५.४ प्रतिशतको नकारात्मक वृद्धिदर भोगेको यो भेगमा सन् २०२१ मा ७.२ प्रतिशतको वृद्धिदर कायम हुने पूर्वानुमान विश्व बैंकले गरेको छ । सन् २०२२ मा भने यस भेगमा ४.४ प्रतिशतको वृद्धिदर रहने भएको छ ।

यद्यपि कोरोना भाइरसले सिर्जना गरेको परिस्थितिले उत्पन्न चुनौतीहरु भने अहिले पनि कायम नै रहेको विश्व बैंकको भनाइ छ ।

यस भेगका करोडौं मानिसको रोजगारी गुमेको छ । आर्थिक गतिविधिहरु पूर्ण रुपमा सञ्चालनमा आउने सकेका छैनन् । सेवा क्षेत्रमा अहिले पनि अन्यौल र अवरोध कायम छन् ।

यसले पर्यटनमा आधारित अर्थतन्त्र भएका मुलुकको जोखिम भने कायमै रहने विश्व बैंकको भनाइ छ । पर्यटनमा आधारित अर्थतन्त्र भएको माल्दिभ्सले सन् २०२० मा माइनस २८ प्रतिशतको नेगेटिभ वृद्धिदर भोगेको थियो ।

चालु वर्ष सन् २०२१ मा यो मुलुकको वृद्धिदर १७.१ प्रतिशत रहने छ । श्रीलंका र नेपाल समेत सेवा क्षेत्र र त्यसमा पनि पर्यटकबाट हुने आम्दानीमा बढी निर्भर रहेका मुलुक हुन् ।

विश्व बैंकले साउथ एसिया इकोनोमिक फोसक स्प्रिङ २०२१ नामक रिर्पोट सार्वजनिक गर्दै यस्तो बताएको हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.