२३ असोज, काठमाडौं । आज अक्टोबर ९ तारिख अर्थात विश्व हुलाक दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी १ सय ४६ औं विश्व हुलाक दिवस मनाईंदैछ ।
यसवर्ष ‘मोर देन मेल’ मुख्य नराकासाथ विश्वभर हुलाक दिवस मनाईंदै छ । काठमाडौंको चारखाल स्थित गोश्वरा हुलाक कार्यालयमा पनि कार्यक्रम गरी विश्व हुलाक दिवस मनाइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै हुलाक सेवा विभागकी महानिर्देशक आभा श्रेष्ठ कर्णले प्रविधिको चुनौती र अवसरसँगसँगै हुलाक सेवालाई थप प्रभावकारी बनाउनुपर्ने आवस्यकता रहेको बताइन् ।
उनले पछिल्लो समयको सेवा प्रवाहलाई समयसापेक्ष बनाउन संगठनको संरचनात्मक सुधार, कर्मचारीमा उत्प्रेरणा र स्रोतसाधनको उपयोग अधिकतम बनाउनुपर्नेमा जोड दिइन् । हुलाक सेवालाई समय सापेक्ष र प्रतिस्पर्धी बनाउन सबै कर्मचारीले उच्च मनोबलका साथ काम गर्नुपर्ने समेत श्रेष्ठले बताइन् ।

संसारभरको हुलाक सेवालाई स्तरीय र सुदृढ बनाउने उद्देश्यले विश्व हुलाक संघको स्थापना भएको दिन हरेक वर्ष अक्टोबर ९ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

आर्थिक, सामाजिक विकासमा सहयोग पु¥याउने र भाइचारा विकास गर्ने उद्देश्यले सन १८७४ अक्टोबर ९ मा विश्व हुलाक संघको स्थापना भएको थियो ।
नेपालले भने १९५६ मा उक्त संघको सदस्यता लिएको थियो । सदस्यात लिएसँगै हरेकवर्ष नेपालमा पनि विश्व हुलाक दिवस मनाईंदै आएको छ ।
