Nepal Times
Nepal Times
3
Shares

वुमन्स च्याम्पियन्स लिग : शतप्रतिशत जितसँगै चितवन फाइनलमा

वुमन्स च्याम्पियन्स लिग : शतप्रतिशत जितसँगै चितवन फाइनलमा

३ कात्तिक, काठमाडौं ।
चितवन टाइगर्स काठमाडौँमा जारी वुमन्स च्याम्यिन्स लिग टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको खेलमा विराटनगर टाइटन्सलाई ५३ रनले पराजित गर्दै चितवन शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो ।

चितवनले समुह चरणका चारै खेलमा अपराजित रहि स्वत फाइनलमा स्थान बनाएको हो । १ सय २३ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा अल आउट हुँदै ६९ रनमा समेटियो । विराटनगरको लागि ओपनर ज्योती पाण्डेले १९ बलमा ४ चौका सहित २१ रनको योगदान दिइन् । पाण्डेलाई छैटौं ओभरको पहिलो बलमा रेखा रावलले सुमन खतिवडाबाट क्याच आउट गराउँदै पेभिलिएन फर्काएकी थिन् ।

दोस्रो ओभरको अन्तिम बलमा ओपनर लक्ष्मी चौधरी १ रन मा रन आउट भएकी थिन् । पाँचौ ओभरको दोस्रो बलमा शर्मीला मगर शून्यमा आउट भइन् । अस्मिना कर्मचार्य ६,सरिता मगर १,आरती विडारी ५,एसोदा बिष्ट डक आउट भएपछि विराटनगर ११.५ ओभरमा ४०–७ को कमजोर अवस्थामा पुगेको थियो ।

तल्लोक्रममा डोली भट्टले २१ बलमा १ चौका र २ छक्का सहित २१ रनमा क्याच आउट भइन् । चितवनको जितमा कविता गौतमले ३ ओभरमा ५ रन खर्चेर ३ विकेट लिइन् । सुमन खतिवडाले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिइन् । सन्तोषी चौधरी,रितु कनौजिया र रेखा रावलको नाममा समान १ विकेट रह्यो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको चितवनले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २२ रन बनाएको थियो। डोली भट्टले १३ ओभरको अन्तिम बलमा डाइरेक्ट थ्रो गर्दै रन आउट गर्नुअघि ओपनर कञ्चन श्रेष्ठले ४१ बलमा ६ चौका सहित ३४ रन जोडिन् । आरती बिडारीले १६ ओभरको चौथो बलमा विकेटकीपर ज्योती पाण्डेबाट क्याच आउट गराउनु अघी काजल श्रेष्ठले ४६ बलमा २ चौका सहित ३६ रन जोडिन् । पहिलो विकेटको लागि काजल र कञ्चनले १३ ओभरमा ६९ रनको साझेदारी गरेपनि मध्यक्रम र तल्लोक्रममा निरन्तर विकेट गुमेपछि मध्यम योगफलमै समेटिएको हो ।

सुमन खतिवडा १० रनमा बोल्ड आउट भइन् । रितु कनौजिया ५ रनमा रन आउट भइन् । सबनम राइले प्यारी चौधरीलाई १८ औं ओभरको पाँचौ बलमा शून्यमा बोल्ड गरिन् । रेखा रावललाई शर्मीला रोका मगरले शून्यमा एलवी डब्लू आउट गर्दै पेभिलिएन फर्किन् । कप्तान इन्दु बर्मा १५ बलमा २ चौका सहित १७ रनमा अविजित रहिन् । विराटनगरकी सबनम राईले २, शर्मीला राना मगर,आरती बिडारी र सोनु खड्काले समान १ विकेट लिए ।

चितवन ४ खेलमा ४ मा जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो । ४ खेलमा ३ मा जित र १ मा हारका साथ क्याट क्विन्स काठमाडौं दोस्रो स्थानमा रह्यो । त्यस्तै ४ खेलमा समान २ मा हार र २ जितका साथ तेस्रो स्थानमा विराटनगर रह्यो । विराटनगर र काठमाडौंबीच मंगलबार क्वालिफायर हुने छ । जसको विजेता चितवनसँग बिहीबार उपाधिको लागि लड्ने छ ।

सुरुवाती तीन खेलमा तीनै खेल हार्दै पोखरा पल्टन र ललितपुर फाल्कोन्स भने एक खेल अगावै समुह चरणबाट बाहिरिएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.