Nepal Times
Nepal Times
3
Shares

संकट साम्य पार्न खोज्दै शीतल निवास

संकट साम्य पार्न खोज्दै शीतल निवास

काठमाडौँ : गत वर्ष पुस ५ गते नेकपाको स्थायी कमिटी बैठक चलिरहेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थायी कमिटीका नेताहरूलाई शीतल निवासमा लञ्च मिटिङका लागि बोलाइन् । राष्ट्रपतिको आतिथ्य ग्रहण गर्न गएका नेताहरू निर्धारित ११ बजे उपस्थित नभएपछि कार्यकारी अध्यक्षको जिम्मेवारी पाएर पहिलो पटक बैठक सञ्चालन गरिरहेका पुष्पकमल दाहाल आक्रोशित भए ।

राष्ट्रपति निवासबाट हस्याङफस्याङ गर्दै आएका नेताहरूलाई उनले चर्कंदै भनेका थिए, ‘पार्टीको बैठक बसिरहेका बेला राष्ट्रपतिले किन नेताहरूलाई बोलाउने ? राष्ट्रपतिले बोलाउँदैमा जाने ? पार्टी अनुशासनमा बस्नुपर्दैन ?’ अन्य नेताहरूलाई अनुशासनको प्रश्न गर्ने दाहाल आफैं भने राष्ट्रपतिकहाँ गएको गयै गर्छन् । जब पार्टीभित्र संकट आउँछ, दाहालकै जस्तो दौडधुप अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पनि चल्छ ।

पदीय जिम्मेवारीअनुसार राष्ट्रपति र प्रधानमन्त्रीको भेट अन्य नेताहरूको जस्तो अस्वाभाविक हुँदैन तर पार्टीमा विवाद बढेका बेला प्रधानमन्त्रीकै भेटघाट शृंखला बाक्लिन्छ । संकटका बेला ओली र दाहाल शीतल निवासको छहारीमा जाने क्रमले बिहीबार पनि निरन्तरता पायो । पार्टीभित्र एकअर्कालाई लिखित आरोप–प्रत्यारोप गरेका ओली र दाहाल बिहीबार छुट्टाछुट्टै रूपमा राष्ट्रपति भण्डारीलाई भेट्न गए । ओली र दाहालबीच पानी बाराबारबाट संवादमा लैजाने रणनीतिअनुसार नेकपाको बैठक स्थगित भएका बेला उनीहरू भण्डारीलाई भेट्न पुगेका हुन् । ओली बिहान र दाहाल अपराह्न शीतल निवास पुगेका थिए । दुवैका सचिवालयले भेटलाई सामान्य र नियमित भनेका छन् । तर विगतमा जस्तै यस पटक पनि दुई नेतालाई संकटबाट बाहिरिन र मिलेर जान राष्ट्रपतिले सहजीकरण गरेको बुझ्न कठिन छैन ।

ओलीविरुद्ध दाहालले आरोपसहितको प्रस्ताव पार्टी सचिवालयमा ल्याएपछि गत मंसिर २ मा पनि राष्ट्रपति भण्डारीले दुवै नेतालाई छुट्टाछुट्टै भेटेकी थिइन् । राष्ट्रपति भण्डारीले दुवैलाई सहमतिका साथ अघि बढ्न सुझाव दिएकी थिइन् तर त्यसपछि सचिवालयमा झन् तिक्तताको स्थिति उत्पन्न भयो । राष्ट्रपतिसँग भेटेको भोलिपल्ट ओलीले दाहालका आरोपको मौखिक जवाफ दिए । १३ गतेको अर्को बैठकमा ओलीले दाहालविरुद्ध ३८ पृष्ठको प्रत्यारोप पेस गरे । गत मंगलबारको बैठकमा ओली र दाहालबीच फेरि भनाभन भयो । यही कारण बुधबार ओली नै अनुपस्थित भएपछि आउँदो २० गतेसम्मका लागि बैठक स्थगित भएको छ । बैठक स्थगनको समय पारेर ओली र दाहाल राष्ट्रपतिकहाँ पुगेका हुन् ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.