Nepal Times
Nepal Times
3
Shares

संवैधानिक इजलासमा अधिवक्ता भण्डारीले भने – ‘के म तमासे हो र ?’

संवैधानिक इजलासमा अधिवक्ता भण्डारीले भने – ‘के म तमासे हो र ?’

काठमाडौं : वरिष्ठतम अधिवक्ता कृष्णप्रसाद भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तो ‘आफू तमासे हो र?’ भन्ने प्रश्न सर्वोच्च अदालतअन्तर्गतको संवैधानिक इजलासमा राख्नुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका रिट निवेदनको सुनुवाइ हुँदाहुँदै सोमबार वरिष्ठतम अधिवक्ता भण्डारीले भन्नुभयो– ‘के म तमासे हो र?’ सो प्रश्न सोध्नुअघि उहाँ कुर्सीमा बसिरहनुभएको थियो ।

प्रधानमन्त्री ओलीले तीन दिनअघि ‘एक जना बाजे वकिललाई तमासा देखाउन संवैधानिक इजलासमा बहस गर्न लगेछन्’ भन्ने टिप्पणी गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको सो टिप्पणीपछि कानुनसँग सम्बन्धित निकायहरुले प्रधानमन्त्रीको विरोधस्वरुप विज्ञप्ति जारी गरेका थिए ।

वरिष्ठतम अधिवक्ताले सो प्रश्न राखेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अहिले सो विषयमा प्रवेश नगरौं भनी जवाफ दिनुभएको थियो । वरिष्ठतम अधिवक्ता भण्डारीले ८ दिनअघि नै प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्छ भन्दै इजलासमा बहस गर्नुभएको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका रिट निवेदनका पक्षमा विगत ८ दिनदेखि लगातार सुनुवाइ भइरहेको छ ।

सोमबारको बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्रीसँग दुईथरी संविधान भएको उल्लेख गर्नुभएको थियो । एउटा राज्यको संविधान र अर्को आफूलाई जे मन लाग्यो सो गर्नका लागि तयार भएको गरी दुईवटा संविधान प्रधानमन्त्रीसँग भएको व्यङ्ग्य वरिष्ठ अधिवक्ता शम्भु थापाले गर्नुभएको थियो ।

उहाँले संविधानभन्दा बाहिर गएर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नुभएको उल्लेख गर्नुभएको थियो । यसैगरी अधिवक्ता मेघराज पोखरेलले प्रधानमन्त्री ओलीले गलत मनसाय लिई प्रतिनिधिसभा विघटन गर्नुभएको आरोप लगाउनुभएको थियो ।

प्रतिनिधिसभा विघटन गरिएको विरुद्ध दायर भएका रिट निवेदनको पक्षबाट सोमबारसम्म करिब ३० जना कानुन व्यवसायीहरुले बहस सकाएका छन् ।, याे समाचार नेपाल समाचारपत्र दैनिकमा छापिएकाे छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.