×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सङ्गतदेखि सङ्ग्रहसम्म

८ जेष्ठ २०७८

-याक्दुहाङ धिरज

कवि दीपक शम्चूलाई चिन्न थालेपछि उनको “आमाको आशिर्वाद” कविताबाट म ज्यादै प्रभावित थिएँ। उनले आमाको विषयमा अन्य कविताहरू पनि लेखेका छन्। उनले कविताका कुरा गर्दा होस् या बाल्यकालको कुरा सम्झँदा, आमालाई जोडेकै हुन्थे। उनले आमालाई सम्झेर आलेख समेत लेखेका छन्। उनले विगत सम्झिनुपर्‍यो भने, जिन्दगी सम्झिनुपर्‍यो भने पक्कै आमालाई नै पहिला सम्झिनेछन्। यसो भनौँ, उनी आमासँग अत्यन्तै नजिक छन्। उनले मिहिन ढङ्गले आमाका यादहरूलाई मुटुमा पगाल्दैपगाल्दै काव्यिक रुपमा प्रस्तुत गर्दारहेछन्। उनले सङ्गालेर राखेको आफ्नो जीवनको स्वर्णिम पललाई सम्झिएर र त्यी सुःखद पलका अल्पायूको दुखाइमा छट्पट्टिएर आफूलाई कवितामा पोख्नेरहेछन्। र कवितालाई जिन्दगी बनाएर उभ्याएका रहेछन्।

दीपकले बुवाको बारे कुरा गरेको मलाई थाह थिएन। एकदिन कुरैकुरामा बुवाको कुरा आयो। अलिक भावुक भएर उनले भने- “मैले त आप्पा (बुवा) को अनुहार नै देख्न पाइनँ।” अहो! आफ्नो बाल्यकालभरि बाल मस्तिष्कले आप्पाको अनुहार आफ्नो दाजुमा, काका-बडामा या अलिक पाको उमेरका पुरुषमा खोजिबस्नुपर्दाको पीडा कति सकसपूर्ण हुँदो हो। मेरो आप्पा यस्तो पो थियो कि! भनेर अरुको अनुहारमा आफ्नो आप्पाको तलास गरिहिँड्ने बालमानसिक क्लेश कति कष्टकर हुन्छ सम्झिँदा मात्रै पनि। याद त छ, तर त्यसको अनुहारसम्म छैन। बल्ल पो थाह भयो, उनले आफ्ना कवितामा बुवालाई नउभ्याउनुको यथार्थ। अत्यन्तै ठूलो घाउ पोख्न अत्यन्तै गाह्रो हुन्छ नै। तर, निकै समयपछि उनले “आप्पाको अनुहार” शिर्षकको मार्मिक र सुन्दर कविता सार्वजनिक गरे। उक्त कविता धेरै अघि नै उनले लेखेर राखिराखेका रहेछन्। सायद आफ्नो वेदनाजसरी नै त्यस कवितालाई लुकाएर राखे उनले। र एकदिन पोखिने हिम्मत गरे। उनको सोही हिम्मतले एउटा सुन्दर कविताको मात्रै जन्म भएन, उनको कवितासङ्ग्रह “अनुहारमा आप्पा” पनि प्रकाशित हुनगयो। सायद उनले कविताको अनुहारमा आफ्नो आप्पा भेट्न सके। उक्त सङग्रहमा आफ्नो कुरा/लेखकीय (कविता जीवन हुन्) को पहिलो हरफमै उनले लेखेका छन्- “आप्पाको बारेमा भन्नुपर्ने कुरा मसँग केही छैन…”। तर म विश्वस्त छु, उनीसँग आप्पाको बारे भन्नुपर्ने कुरा धेरै धेरै नै छन्, जुन उनको हृदयलाई थाह छ, उनका आँखालाई थाह छ।

कविताको सैद्धान्तिक, संरचनागत व्याख्या, परिभाषा आफ्नै ठाउँमा छ। महत्वको कुरा चैँ कवितालाई मान्ने/हेर्ने दृष्टिकोण नै हो, र त्यसमा विविधता छ; कविताको एउटा सुन्दर पाटो यो पनि हो। व्याख्या, दृष्टिकोण जे-जस्तोसुकै भए पनि कविताले मन-मस्तिष्कलाई तरङ्गित पार्न सक्नुपर्छ भन्ने हो। यसो भनौँ, काव्यिक लहरले हृदय र दिमागमा उत्पन्न झङ्कारको तरङ्ग हो कविता। काव्यिक तरङ्गमा आफ्ना कविताहरू छचल्काउँदै बहेका छन् कवि “अनुहारमा आप्पा” कवितासङ्ग्रहमा। शम्चूले जसराज किरातीको “ट्याम्के”को डोब पछ्याउँदै उकाली-ओराली गराउँछन् कवितालाई। कृष्णभूषण बलको “इलाम”सँगै चिसो पनि बग्छन्। सुमन पोखरेलको “गर्मी”जस्तै तात्तिन्छन् पनि। र आफूले पढाउने अबोध बालबालिकाको जस्तो मुलायम मुस्कान पनि फुलाउँछन् कवितामा।

पेशाले शिक्षक हुन् शम्चू। त्यही कारण हुनुपर्छ उनले शिक्षा सम्बन्धी अत्यन्तै सुन्दर कविताहरू लेखेका छन्। उनीजस्तै शालीन र बालबालिकाजस्तै मुलायम छन् उनका कविता। हाम्रो शिक्षण पद्धतिलाई मिहिन ढङ्गले केलाएर शालीन विद्रोहको चेत भर्नु उनका कविताको सर्वाधिक शक्ति हो यस सङ्ग्रहमा। र अर्को महत्वपूर्ण पाटो उनले बालमनोविज्ञानमा खेलेका कविताहरू हुन्। यिनै विशेष गुणले “अनुहारमा आप्पा” कवितासङ्ग्रह पृथक, सुन्दर र महत्वपूर्ण छ।

झलक्क पढ्दा शम्चूका कविता वैयक्तिक लागे पनि पढिसकेपछि आफैँलाई भेट्न सक्छन् पाठकले उनका कवितामा। यसरी उनका कविता वैयक्तिक भएर पनि सार्वजनीन हुन सफल छन्। समसामयिक विषयमा लेखिएका उनका कवितामा शम्चूलाई प्रभावशाली ढङ्गले उभ्याउन सफल भएका छन् उनी। उनको मौलिक छाप प्रष्ट देख्न सकिन्छ। जसले गर्दा “यो शम्चूको कविता हो” भनेर सहजै चिन्न सकिन्छ। शम्चूले आफ्ना कवितामा जीवनको सरगम भरेर गुनगुनाएका छन्। उनका कविताको लय लोभलाग्दो छ। पढ्दापढ्दै हरफहरूबाट सुमधर धुन गुञ्जन थाल्दछन्। र त्यी गुञ्ज्याइले शालीन विद्रोह उछालिदिन्छन्।

मैले जानेसम्म शम्चूले सानै उमेरमा प्रेम विवाह गरी जिन्दगीको व्यवहारिकता निभाउन थाले। प्रेमिल जिन्दगीको यात्राभन्दा बाहिर निस्किएर एक प्रेमिकाले प्रेमीबाट पाएको धोका परिकल्पना गरी कसरी “खस्दाखस्दै बल्झेका यादहरू” जस्तो सुन्दर कविता लेख्नसके होलान् उनले? भनेर मलाई सधैँ थकथक लागिरहन्छ। मलाई असाध्यै मनपर्ने यही कविताको अंशबाट मेरो कुरा बिट मार्छु।

थैलुङ्…नी हुँदा फेरेको सास त्यतै छुटेको छ

समातेर आफूसँगै राख्नू

एकान्तमा मेरो साउती सुन्न सक्छौ

लुकाइराखेका प्रेमका स्मृतिहरू

झोलाको गोजीमा, खोपीमा, कोठाका चेप-चेपमा

होसियारीको साथ खोज्नू

विरक्तिएको बेला

झल्याँस्स-झल्याँस्स सम्झना पल्टाइरहन सक्छौ।

 

तिम्रै मुटुमा सिउरिदिएकी छु

आमाले मेरो गालामा राखिदिएको गुलाफ

जतनले सजाएर राख्नू

सम्झनाले सताएमा लुकेर

नछोई मलाई नियालिरहन सक्छौ।

 

तिम्रै लागि छोडिदिएकी छु जीवनको धुन

अरु कसैले नसुन्नेगरी गुनगुनाउनू/गुनगुनाइरहनू।

(दीपक शम्चू र ‘अनुहारमा आप्पा’ माथिको अनुभूति)

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top