Nepal Times
Nepal Times
3
Shares

सत्तारुढ नेकपाभित्रको विवाद अबको केही दिनमै समाधान गर्नेः निर्वाचन आयोग

सत्तारुढ नेकपाभित्रको विवाद अबको केही दिनमै समाधान गर्नेः निर्वाचन आयोग

१६ फागुन, काठमाडौँ । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रको विवाद अबको केही दिनमै समाधान गर्ने तयारी थालेको छ ।

अब चुनावको तयारी गर्नु नपर्ने र पेस भएका दुवै पक्षका निवेदनहरुमाथि अध्ययन भइरहेकाले छिट्टै विवादको निरुपण गर्ने तयारी भइरहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले उज्यालोलाई जानकारी दिए । संवैधानिक व्यवस्था, कानुनी प्रावधान, प्राप्त निवेदनलगायतलाई आधार बनाएर आयोगले अध्ययन अन्तिम चरणमा पुर्याएको छ ।

यसअघि चुनावको प्रयोजनका लागि विभिन्न काम गर्नुपर्ने भएकाले नेकपाभित्रको विवाद समाधान गर्न समस्या भइरहेको र अहिले अवस्था सहज भएकाले केही दिनमै विवादको निचोड निकालिने उनको भनाइ रहेको छ । यति दिनभित्र नै विवाद निरुपण हुन्छ भनेर आंकलन गर्न सकिने अवस्था नरहेपछि अहिलेलाई केही दिनभित्रै हुन्छ भनेर बुझ्नुपर्ने प्रवक्ता श्रेष्ठको भनाइछ ।

यसैबीच, नेकपाको विवाद समाधानका लागि आयोगले देखाएको भूमिकाप्रति नेकपाको प्रचण्ड–नेपाल समूहले असन्तुष्टि जनाएको छ । आयोगले संविधान र कानुनसम्मत ढंगले सहज निर्णय नगर्दा अहिले समस्या भइरहेको प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाइ छ ।

यसअघि आयोगमा प्रचण्ड–नेपाल समूह र ओली समूहले उपलब्ध गराएका दुवै निर्णयलाई वैधानिकता नदिने आयोगले निर्णय गरेको थियो । त्यसपछि फेरि प्रचण्ड–नेपाल समूहले अर्को निर्णय बोकेर आयोग पुगेको थियो ।

प्रचण्ड–नेपाल समूहले आवश्यक परे बहुमत सदस्य नै आयोगमा उपस्थित हुने भन्दै बहुमत सदस्यहरुको नागरिकता र पार्टीको परिचयपत्र सङ्कलन गरेर राखेको छ । ओली समूहले पनि आफूसँग अध्यक्ष, महासचिव, माइन्युट सबै भएकोले आफूहरु नै नेकपाको आधिकारिक समूह भएको दाबी गर्दै आएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.