Nepal Times
Nepal Times
3
Shares

सप्तरीमा झडप, स्थिति नियन्त्रणमा लिन आठ राउण्ड अश्रुग्यास प्रहार

सप्तरीमा झडप, स्थिति नियन्त्रणमा लिन आठ राउण्ड अश्रुग्यास प्रहार

२१ जेष्ठ, सप्तरी ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा बुधबार भएको झडप नियन्त्रणमा लिन प्रहरीले आठ राउण्ड अश्रुग्यास प्रहार गरेको छ।

जग्गा सम्बन्धी विवादमा छिन्नमस्ता गाउँपालिका–७ स्थित हाटी गाउँमा तनाव बढेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले आठ राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, सप्तरीका डीएसपी तिलक भारतीले जानकारी दिए।

झगडाको खबर पाएर दुई वटा मोटरसाइकल लिएर पुगेका इलाका प्रहरी कार्यालय, सखडाका सई रामबालक ठाकुरमाथि नै ढुङ्गामुढा हुन थालेपछि सय भन्दा बढी प्रहरी घटनास्थल पुगेका थिए। त्यतिले पनि स्थिति सामान्य नभएपछि नेपाली सेना घटनास्थल पुगेर अवस्था नियन्त्रणमा लिएको छ।

पाँच दिन अघि भएको जग्गा विवादले उग्र रुप लिँदा दुई समूहबीच झडप भएको सोही टोल निवासी जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवले बताए। यादवका अनुसार गणेशी मण्डलको जग्गाको पिलर उखेल्नुका साथै उनकी श्रीमती मीरा मण्डलको टाउको समेत फुटाइ दिएको विषयले उग्र रुप लिँदा दुई समूहबीच झडप भएको हो।

घाइते ४८ वर्षीय दुलार मन्सुरीले अर्को पक्षले योजना बनाएर कुटपिट गरेको आरोप लगाए। गुजेश्वर मास्टरकहाँ भेला भएर योजना बनाएका उनीहरुले बुधबार बिहान दूध लिन गएका हबीब मन्सुरीलाई खेदेपछि प्रतिवाद गर्दा दुई तिरबाट ढुङ्गा बर्साउँदै कुटपिट गरेको उनले बताए।

कोराना संक्रमण फैलिएपछि दुव्र्यवहार खेप्दै आएको दुखेसो गर्दै २९ वर्षीय अजमुलले जग्गाको विवाद व्यक्तिगत भए पनि सिंगो समुदायमाथि सुनियोजित तरिकाले आक्रमण गरेको आरोप लगाए। झडपमा जेष्ठ नागरिक मन्दिरका पुजारी र मौलबी समेत घाइते भएका छन्।

झडपमा ९० वर्षीय महबुद मन्सुरी, ८१ वर्षीय मो. इद्रिस, ५५ वर्षीय मो. उस्मान, ५० वर्षीय ताहिर मन्सुरी, ४७ वर्षीय मो. मुख्तार, ५० वर्षीय मनीर मन्सुरी, ४० वर्षीय कमरुद्दिन मन्सुरी, ४८ वर्षीय महबुद मन्सुरी घाइते भएका छन्।

यसैगरी हाटी मन्दिरका पुजारी ७१ वर्षीय सीताराम दास, ४० वर्षीय वीरेन्द्रप्रसाद यादव, २७ वर्षीय सजन साह घाइते भएका छन्। घाइते यादवले गणेशी मण्डलको जग्गामा गाडिएको पिलर उखेलेर कुटपिट गरेको र सो विषयमा गाउँमा भएको छलफल र निर्णय समेत नमानेको आरोप लगाए।

दुवै पक्षले एक अर्कामाथि लाठी, ढुङ्गा र घरेलु हतियारले आक्रमण गरेको आरोप लगाएका छन्। घाइते सबै जनालाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ। पुनः झडप हुन सक्ने सम्भावना रहेकोले राजनीतिक दल, जनप्रतिनिधि, प्रहरी, नागरिक समाज बसेर घटनास्थलमा छलफल गरिरहेका छन्।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.