Nepal Times
Nepal Times
3
Shares

‘सबै सार्वजनिक स्थललाई क्वारेन्टाईन र आईसोलेसन बनाऊँ’

‘सबै सार्वजनिक स्थललाई क्वारेन्टाईन र आईसोलेसन बनाऊँ’

२३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले कोभिड नियन्त्रणको लािग स्थानीय तह र प्रदेशसँगको समन्वयमा प्रभावकारी काम गर्न सरकारलाई सुझाव दिएको छ ।

सबै स्थानीय तहमा आवश्यक आधारभूत संरचना, अस्पताल वेड, आइसीयू वेड, आइसोलेसन केन्द्र, क्वारेन्टाईन र होल्डिङ्ग सेन्टरको व्यवस्थापन, संचालन र अनुगमन गर्न कांग्रेसले आग्रह गरेको छ ।

नेपाली कांग्रेस संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले बिहीबार एक विज्ञप्ती जारी गरी केन्द्र र प्रदेशमा रहेका ठूला अस्पताल, मेडिकल कलेजलाई कोभिड र साना अस्पताललाई ननकोभिड अस्पतालका रुपमा विकसित गरी सेवा प्रवाह गर्न सुझाव दिएका छन् ।

कांग्रेसले जारी गरेको विज्ञप्तीमा आवश्यक वेड, आइसीयू वेड र भेन्टीलेटरको संख्या वृद्धि गर्न, अक्सिजन प्लान्टको स्थापना गर्न र कोभिडको उपचारमा प्रयोग हुने एन्टीभाइरल औषधि तथा अन्य जीवनरक्षाका औषधिको यथोचित प्रबन्ध गर्न नेपाल सरकार समक्ष माग गरिएको छ ।

साथै स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन यथाशीघ्र आवश्यक चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई करारमा भर्ना गर्ने प्रक्रिया अगाडि बढाउन पनि कांग्रेसले सुझाव दिएको छ ।

महामारीको कठिन घडीमा अग्रपंक्तिमा रहेर संक्रमितको उपचार र व्यवस्थापनमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, चालक, सफाईकर्मी सहित सबै राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मीको बीमा तथा जोखिम भत्ताको व्यवस्था तत्काल गर्न कांग्रेसले माग गरेको छ ।

सीमा नाकाबाट स्वदेश भित्रिरहेका नागरिकलाई अनिवार्य पीसीआर परीक्षण गर्ने, परीक्षणको नतिजा नआउन्जेल होल्डिङ्ग सेन्टरमा राख्ने व्यवस्था गर्न र संक्रमण देखिएका व्यक्तिलाई स्थानीय तहको समन्वयमा आईसोलेशन केन्द्रमा राख्ने व्यवस्था गर्न आग्रह गरिएको छ ।

‘नेपाल बाहिरबाट आउने व्यक्तिको अभिलेख अद्यावधिक राख्न, संक्रमितको पहिचान र कन्ट्रयाक्ट ट्रेसिङ्ग कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन सम्बधित सबै निकायलाई आग्रह गर्दछ’, कांग्रेसको विज्ञप्तीमा भनिएको छ ।

लकडाउनका कारण रोजगार गुमाएका आमनागरिक, श्रमिक र साना व्यवसायीले भोग्नुपरेको पीडालाई मध्यनजर गर्दै आवश्यक राहतको प्याकेज ल्याउन पनि कांग्रेसले माग गरेको छ ।

स्वास्थ्य पूर्वाधार र स्वास्थ्य सामग्रीको अभावमा भोग्नु परेको कठिनाइलाई ख्याल गर्दै सबै प्रकारका सार्वजनिक र सामुदायिक स्थल, सभाहल, रंगशालालाई क्वारेन्टाइन, आइसोलेसन केन्द्र र होल्डिङ्ग सेन्टरको रुपमा उपयोग गर्ने कार्यमा अगुवाई गर्न कांग्रेसले कार्यकर्तालाई निर्देशन दिएको छ ।

आवश्यकता अनुसार पार्टीकै संरचनालाई समेत सो कार्यको प्रयोजनका लागि उपयोग गर्न आवश्यक पहलकदमी गर्न पनि विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.