Nepal Times
Nepal Times
3
Shares

सभामुखलाई उपराष्ट्रपति निवास

सभामुखलाई उपराष्ट्रपति निवास

९ माघ, काठमाडौँ ।
सरकारले सभामुखका लागि यसअघि उपराष्ट्रपति नन्दबहादुर पुन बसेको लैनचौरस्थित भवन व्यवस्थापन गर्ने भएको छ । राजधानीको कपुरधारा मार्गमा रहेको उक्त भवन सभामुखका लागि व्यवस्थापन गर्न लागिएको हो ।

यसअघिको बालुवाटारस्थित सभामुखको सरकारी निवासमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बसेका छन् । तिमिल्सिनाले प्रयोग गरेको सरकारी निवासमा प्रधानमन्त्री केपी शर्मा ओली गत मङ्सिर पहिलो साता सरेका थिए । सभामुख चयन प्रक्रिया अघि बढेसँगै संसद् सचिवालयले निवास व्यवस्थापनका लागि सहरी विकास मन्त्रालयलाई पत्राचार गरेको थियो । मन्त्रालयले लौनचौरस्थित उक्त भवनमा आवश्यक मर्मत गरी हस्तान्तरणको तयारी गरिरहेको छ । रङरोगन लगायतका काम करिब सकिएको छ ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले नयाँ सभामुखका लागि भवन व्यवस्थापन भइसकेको बताए । लौनचौरको उक्त निवास काठमाडौँ महानगरपालिकाका प्रमुखले समेत प्रयोग गरेका थिए । पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तका लागि व्यवस्थापन गरिएको थियो । प्रमुख आयुक्तका लागि कार्यालयसँगै निवास व्यवस्थापन भएपछि उक्त भवनलाई उपराष्ट्रपति निवास बनाइएको थियो ।

तत्कालीन उपराष्ट्रपति परमानन्द झा उक्त भवनमा बसेका थिए । यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन पनि सोही भवनमा बसे । उनी सरेपछि खाली भएको निवासमा केही समय पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसमेत बसे । समाजवादी पार्टीले सरकार छाडेपछि मन्त्री भट्टराई पुल्चोक सरेका थिए । त्यसपछि भवन खाली नै थियो । गोरखापत्रबाट

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.