१९ मंसिर, बझाङ ।
बझाङकाे मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना कामीको हत्याका आरोपित राजेन्द्र बोहरा भागेका छन् ।
पुर्पक्षका लागि बाल सुधार केन्द्र डोटीमा राखिएका उनी बिहीबार जिल्ला अस्पताल डोटीको आइसोलेसनबाट राति १० बजेतिर फरार भएको जिल्ला प्रहरी प्रमुख एसपी जनक पाण्डेले बताए । उनी अस्पतालको आइसोलेसन कक्षको झ्याल फोरेर भागेकाे प्रहरीले जनाएकाे छ । उनको खोजीको लागि व्यापक मात्रामा प्रहरी परिचालन गरिएको एसपी पाण्डेले बताए ।
कोरोना संक्रमण भएपछि बोहरालाई मंसिर ६ देखि बालसुधार गृहबाट अस्पतालको आइसोलेसनमा राखिएको थियो । बोहराले सम्झनाको बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेका छन् । उनले बलात्कारपछि बालिकालाई त्रिशूल, घन र ढुंगाले हानेको भनी प्रहरीमा बयान दिएका छन् ।
बोहराको जन्ममिति विभिन्न ठाउँमा फरक–फरक देखिएका छन् । वडा कार्यालय र बोहरा पढ्ने विद्यालयमा उनको जन्ममिति फरक छ । राजेन्द्रका आमाबुबाले दुवै दस्ताबेजसँग नमिल्ने फरक जन्ममिति बताइरहेका छन् ।