Nepal Times
Nepal Times
3
Shares

साफ च्याम्पियनसिप अक्टोबरमा हुने, आयोजनामा नेपालको पनि दाबी

साफ च्याम्पियनसिप अक्टोबरमा हुने, आयोजनामा नेपालको पनि दाबी

९ साउन, काठमाडौं ।
दक्षिण एसियाली फुटबलको सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनसिप बंगलादेशले आयोजना नगर्ने भएको छ । शुक्रबार साफको महासचिव स्तरीय बैठकमा बंगलादेशले आयोजना गर्न नसक्ने औपचारिक जानकारी दिएको हो।

यससँगै सहभागी टोलीहरुले प्रतियोगिता अक्टोबरमा गर्न सहमति गरेका छन् । यसअघि प्रतियोगिता सेप्टेम्बरमा हुने योजना रहेको थियो । प्रतियोगिताको आयोजक भने जुलाई अन्तिमसम्म तय गरिनेछ । शुक्रबारको बैठकमा नेपालसँगै माल्दिभ्स र भारतले आयोजनाका लागि दावेदारी प्रस्तुत गरेका छन् ।

बैठकमा अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव इन्द्रमान तुलाधरले नेपालमा कोरोनाका कारण अवस्था चिन्ताजनक रहेपनि प्रतियोगिता आयोजना गर्न आफूहरु सक्षम रहेको बताएका थिए।

प्रतियोगितामा भने ५ टोलीको मात्र सहभागिता रहने पक्का छ । पाकिस्तान फिफाको प्रतिबन्धमा रहेका कारण सहभागिता जनाउने छैन । भुटानमा भने कोरोना संक्रमणका कारण देशबाहिर जान प्रतिबन्ध रहेका कारण सहभागिता नहुने भएको हो । आयोजना दावी गरेका नेपाल, माल्दिभ्स र भारतसँगै श्रीलंका र बंगलादेशले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

यसअघि एन्फाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबाट नै आयोजना आवेदनका लागि स्वीकृति पाएको थियो । तर उक्त स्वीकृति पाएको दुई दिन नबित्दै सरकार परिवर्तन भएको हो । यसका बाबजुद पनि एन्फा आयोजना गर्न अघि सरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.