Nepal Times
Nepal Times
3
Shares

सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै ‘बिसु’ पर्व मनाईंदै

सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै ‘बिसु’ पर्व मनाईंदै

१ बैशाख, काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने ‘बिसु’ पर्वको रौनक बढेको छ । यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा निसौसे, रोट, माणा, गतानी डुब्कालगायतका डोटेली खानाका मीठा परिकार पकाउन व्यस्तता बढेको छ ।

बिसु पर्व मनाउन विवाहिता छोरी/चेलीमा आ–आफ्नो माइतीघर जाने चटारो पनि देखिएको छ ।

यसैगरी नोकरीको सिलसिलामा भारतमा रहेका नेपालीहरु केही समयका लागि भए पनि यो पर्व मनाउन जन्मघर फर्किइरहेका छन् ।

पछिल्ला हप्तामा भारतमा कोरोना भाइरसको सङ्क्रमण बढ्दा भने स्वदेश फर्किनेहरुको यात्रा त्यति सहज हुन सकिरहेको छैन ।

धनगढीको ट्रफिक चोकमा भेटिनु भएका डोटीका डिल्लीराज जोशीले वर्षमा एक पटक आउने बिसु पर्व मनाउन केही दिनको विदा मागेर घर फर्किएको बताए।

“कोरोना भाइरस सङ्क्रमणको समस्याले यात्रा केही असहज भयो, सङ्क्रमणको अवस्था कस्तो हुन्छ, फर्किन सकिने अवस्था भए केही दिनको बसाइपछि पुनः भारत फर्किने सोचमा छु”, उनले भने ।

कोरोना सङ्क्रमणको समस्याका बीच बिसु पर्व मनाउन कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकीलगायतका सीमा नाका हुँदै स्वदेश भित्रिनेहरु बढ्दै गएका छन् ।

यो पर्वमा देवर–भाउजू, साली–भिनाजु, नन्द–भाउजू, जेठानी–देवरानीबीच एक आपसमा सिस्नु पानी छ्यापेर ठट्टा रमाइलो गर्ने गरेको विषयलाई आकर्षक पक्षका रूपमा लिइन्छ ।

तराईका जिल्लाभन्दा पहाडका जिल्लामा यो पर्वको रौनक बढी देखिन्छ । सिस्नु पानी छ्याप्दा शरीरमा रहेका छालासम्बन्धी रोग निको हुने जनविश्वास छ । हरेक घरमा दहीमा चामल भिजाएर बनाइएको ‘दहीचामल’ आपसमा बाँडेर खाने चलन समेत छ ।

यो पर्व मनाउने तयारीस्वरूप पहाडी गाउँबस्तीका घरपरिवारले आ–आफ्नो घरलाई रातो र कमेरो माटोले लिपपोत गरेर चिटिक्क पारेका छन् ।

घर लिपपोत गर्न नसक्नेको घरको लिपपोतको काम छिमेकी महिलाको सहयोगमा गर्ने गरिन्छ । लिपपोत गर्ने कामको नेतृत्व महिलाले गर्ने गर्छन् ।

यो पर्व किन मनाइन्छ भन्नेमा विभिन्न भनाइ छन् । स्थानीय शिक्षक लेखराज ओझा विक्रम सम्वत् शुरु भएको दिन भएकोले नयाँ वर्षको पहिलो दिन वैशाख १ गते ‘बिसु’ पर्व मनाउने चलन शुरु भएको बताउँछन् ।

“गहुँ र दलहन जस्ता हिँउदे बाली भित्र्याएपछि पहिलो पटक घरमा नयाँ अन्नको ‘नौकोलो’ अर्थात् न्वागी पकाएर खाने चलन पनि रहेको छ”, ओझाले भन्नुभयो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.