Nepal Times
Nepal Times
3
Shares

सुनकोशी–तेस्रो जलविद्युत आयोजना : प्राविधिक अध्ययन ९० प्रतिशत सम्पन्न

सुनकोशी–तेस्रो जलविद्युत आयोजना : प्राविधिक अध्ययन ९० प्रतिशत सम्पन्न

बनेपा: पाँच सय ३६ मेगावाट क्षमताको सुनकोशी–तेस्रो जलाशययुक्त विद्युत आयोजनाको प्राविधिकतर्फको अध्ययनको काम ९० प्रतिशत सम्पन्न भएको छ । आयोजनाको प्राविधिकतर्फ सर्वे, भौगर्भिक अध्ययन तथा आयोजना आसपासको चट्टानहरुको अवस्थाको बारेमा ड्रिलिङ गर्नेलगायतका प्रारम्भिक इन्जिनियरिङ डिजाइनको काम सम्पन्न भएको छ ।

बिद्युत विकास विभागका हाइड्रोपावर इन्जिनियर सुवास थपलियाले प्राविधिकतर्फ अध्ययनको काम ९० प्रतिशत सम्पन्न भएपनि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को काम भने बाँकी रहेको बताउनुभयो । उहाँले वातावरणीय प्रभाव मूल्याङ्कनको अध्ययनको क्रममा वन तथा वातावरण मन्त्रालयमा कार्यसूची र क्षेत्र निर्धारण प्रतिवेदन स्विकृतिको क्रममा रहेकोले ईआईएको काम रोकिएको बताउनुभयो ।

उहाँले यस महिनाको अन्तिमसम्ममा प्रतिवेदन स्विकृति प्राप्त हुने सम्भावना रहेको बताउनुभयो । ई. थपलियाले कोभिड–१९ का कारण आयोजनाको परामर्शदाता कम्पनीले फिल्डमा गएर काम गर्ने वातावरण नभएकोले ईआईएको काम बाँकी रहेको बताउनुभयो । ‘आयोजनाबाट प्रभावित हुने तथा आयोजना आसपासका क्षेत्रमा गएर घरधुरी सर्वे, प्रभावित परिवारको आर्थिक, सामाजिक अवस्थाको बारेमा घरघरमा गएर सर्वे गर्नुपर्ने काम बाँकी रहेको छ’ विभागका हाइड्रोपावर इन्जिनियर थपलियाले थप्नुभयो ।

उहाँले आयोजनाको अध्ययन गर्ने क्रममा वातावरण ऐन परिवर्तन हुनु र ऐन परिवर्तनसँगै नियमावली निर्माणमा नभएका कारण मन्त्रालयले कार्य अगाडी नबढाउन पत्राचार भएपछि करिब सात महिना काम ठप्प भएको बताउनुभयो । सांघायी इन्भेष्टीगेशन एण्ड डिजाइन रिसर्च इन्ष्टिच्यूट र नेपाली परामर्शदाता इन्भारोमेन्ट एण्ड रिसोर्स म्यानेजमेन्ट कन्सल्टेन्सीले संयुक्त रुपमा आयोजनाको अध्ययनको काम गरिरहेका छन् ।

विभागका ई. थपलियाले सुनकोशी तेस्रो र सुनकोशी दोस्रो आयोजनाको अध्ययनका लागि एकमुष्ट रुपमा १९ करोड रुपियाँ बजेट विनियोजन भएको र यी दुई आयोजना अध्ययनका लागि ३३ करोड रुपियाँ बजेट लाग्ने बताउनुभयो । उहाँले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदी अन्र्तगत काभ्रेको तेमाल गाउँपालिका–९ को सिमाना र रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभूघाटमा विद्युत आयोजनाको बाँध निर्माण प्रस्ताव गरिएको बताउनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.