Nepal Times
Nepal Times
3
Shares

सुन्धारास्थित एक सय वर्ष पूरानो मस्जिदमा तोडफोड

सुन्धारास्थित एक सय वर्ष पूरानो मस्जिदमा तोडफोड

८ कात्तिक, काठमाडौं । काठमाडौंको सुन्धारास्थित मुसफिर मदिनी मस्जिदमा तोडफोड भएको छ । शनिबार बिहान नचिनेका समूहले डोजर लगाएर मस्जिद अगाडिको भाग तोडफोड गरेका हुन । एक सय वर्ष भन्दा पूरानो भनिएको यो मस्जिदमा भूमाफियाको तारो समेत बन्ने गरेको छ ।

निर्माणाधीन धरहराको ठीक पछाडी ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग रहेको छ भने भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ ।

मस्जिद भत्काइएपछि काठमाडौंमा रहेका मुस्लिम समुदाय चिन्तित र आक्रोशित बनेका छन् । मस्जिद परिसरमा भेटिएका मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले भूमाफियाले जग्गा हडप्न मस्जिद भत्काउने काम गरेको बताए । यस अघिपनि पटकपटक भूमाफियाले जग्गामा आँखा लगाएर मुस्लिम समुदायलाई धम्क्याउँदै आएको अध्यक्ष अन्सारीले बताए ।

यस्तै मस्जिद रहेको काठमाडौं महानगरपालिका वडा नं. २२ का वडा सदस्य गीता परियारले वडाध्यक्षको संलग्नतामा केही भूमाफियाले सँधै मस्जिद खाली गर्न धम्क्याउने गरेको बताए ।

यता आजको घटनालाई नेपाल मुस्लिम संघले समेत विरोध गरेको छ । मुस्लिम संघका अध्यक्ष अब्दुल सतारले आजको घटना मस्जिद माथिको आक्रमण मात्रै नभएर सम्पूर्ण नेपाली मुस्लिम माथिको आक्रमण भएको बताए ।

यो मुसफिर मदिनी मस्जिद २०७२ सालको भूकम्पले धरहरा ढल्दा क्षतिग्रस्त बनेको थियो । यसलाई मुस्लिम समुदायले अस्थाई रुपमा संरचना बनाई प्रयोग गरिरहेका छन् । आज भन्दा एक सय वर्ष अघि मुस्लिम धर्मावलम्बीहरु काठमाडौं आउजाउ गर्दा नमाज पढने स्थानको रुपमा स्थापित भएको यो मस्जिदमा अहिले ४ प्रहरको नमाज पढन मस्लिम समुदाय पुग्ने गरेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.