११ माघ, विराटनगर ।
आज सोनाम ल्होसार । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात नयाँ वर्ष पर्व शनिबार विविध कार्यक्रम गरी मनाइँदैछ ।

मञ्जुश्री पात्रो अनुसार शनिबारदेखि २८५६औँ वर्ष सुरु हुन्छ । आजदेखि सुँगुर वर्ष पूरा गरी मुसा वर्ष प्रवेश भएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले तामाङ समुदायलाई प्रकृति पूजक मानिन्छ । तामाङ जातिको बाहुल्यता रहेको बाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ । शनिबार मनाइने पर्वका अवसरमा बाग्मती प्रदेशले शुक्रबार नै प्रदेशभर सार्वजनिक बिदा दिएको थियो ।

यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायले मनाउने महान् पर्व सोनाम ल्होसार जस्ता चाडपर्व र संस्कृतिले राष्ट्रिय एकता सुदृढ पार्न एवम् सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको विश्वास व्यक्त गरेकी छन् ।

तामाङ समुदायले मनाउने महान् पर्व सोनाम ल्होसारको अवसरमा शनिबार शुभकामना सन्देशमार्फत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् प्रगतिको कामना गर्दै राष्ट्रपति भण्डारीले यस प्रकारका चाडपर्वको अहम् राष्ट्रिय महत्व रहेको उल्लेख गरेकी छन् ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचलनमा हरेका भाषा, धर्म, संस्कृति, वेशभूषालगायत विविध बहुमूल्य सम्पत्तिलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

तामाङ समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएको प्रमुख चाड सोनाम ल्होसारका अवसरमा प्रधानमन्त्री ओलीले शनिबार शुभकामना व्यक्त गर्दै देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको समेत उल्लेख गरेका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top