३ मंसिर, काठमाडौँ ।
आइतबार राति हङकङको एक रेस्टुरेन्टमा भएको आगलागीमा मृत्यु भएका नेपालीमध्ये बागलुङको एकै परिवारका चार जना रहेका छन् ।
जन्मदिनको पार्टी मनाइरहँदा क्यान्टोन रोडस्थित रेस्टुरेन्टमा सो घटना भएको हो । बागलुङको काठेखोला गाउँपालिका–६ का ३८ वर्षीय युवराज कँडेल, उनकै १३ वर्षकी छोरी कृतिका, युवराजकै बहिनीज्वाइँ ३५ वर्षका राजबाबु नेपाल र उनका ९ वर्षका छोरा रायनको मृत्यु भएको छिमेकी तथा काठेखोला–५ का वडाअध्यक्ष शिवप्रसाद कँडेलले बताए ।
युवराजका दाइ गिरी भने क्यानडाबाट हङकङ गएर क्वारेन्टाइनमा बसेकाले घटनाबाट जोगिन सफल भए । मृतक कँडेलका बाबुआमा पनि एक महिनादेखि हङकङ जाने तयारीमा थिए ।
तर कोरोना महामारीका कारण यतै रोकिएका थिए । घटनामा उनीहरूकै नाताका १८ जना घाइते भएका छन् । घटनामा सागर कँडेलसहित उनको परिवारका अरू तीन जना पनि गम्भीर अवस्थामा छन् ।
तीन दिनदेखि उनीहरूको होस नखुलेको बताइएको छ । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आगलागीमा शेरबहादुर गुरुङ, अनिता निरौला र विनिता तामाङको पनि मृत्यु भएको छ ।
गीता कँडेल, मुकेश श्रेष्ठ, हस्तमाया धिमाल, सुबिरा थापा, कृष्ण कँडेल, देवकी कँडेल, सुतेक्षा कँडेल शालिग्राम कँडेल, सुमन गुरुङ घाइते भएको हङकङ नेपाल अनलाइनले सार्वजनिक गरेको छ ।
युवराजकी ३ वर्षकी छोरी भने सकुशल छिन् । घटनाबारे प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले केही जानकारी नपाएको बताए । ‘सार्वजनिक बिदा भएकाले होला, केही सूचना छैन,’ उनले भने ।