Nepal Times
Nepal Times
3
Shares

हाँस्यव्यङ्ग्य कवि लावण्य सापकोटाको निधन

हाँस्यव्यङ्ग्य कवि लावण्य सापकोटाको निधन

२३ असोज, विराटनगर ।
हाँस्यव्यङ्ग्य कवि लावण्य सापकोटाको निधन भएको छ । केही समयदेखि श्वासप्रश्वासबाट थलिएका कवि सापकोटाको बिहीबार राति निधन भएको हो ।

विराटनगर–११ निवासी सापकोटा विगत पाँच दशकभन्दा लामो समयदेखि साहित्य लेखनमा सक्रिय थिए । विशेष गरी हाँस्यव्यङ्ग्य विधामा कलम चलाउने सापकोटाका ‘हाईसञ्चो’ र ‘अलख निरञ्जन’ दुई वटा हाँस्यव्यङ्ग्य कवितासंग्रह प्रकाशित छन् । भाषाशास्त्री महानन्द सापकोटाका सुपुत्रका रुपमा वि.सं. १९९७ वैशाख १ गते धरानमा जन्मिएका सापकोटा २०१९ सालमा निजामती सेवामा प्रवेश गरेका थिए । उनी २०४९ सालमा वरिष्ठ वन अधिकृत पदबाट सेवा निवृत्त भएका थिए ।

समसामयिक विषयमा तीखो प्रवाह गर्न सिपालु सापकोटाले कविहरूलाई समेत व्यङ्ग्य गर्न पछि नपर्ने प्राज्ञ विवश पोखरेल बताउँछन् । “कविहरूका चरित्रका विषयलाई समेत लावण्य दाइले आफ्नो लेखनमा उतार्नुभएको थियो,” पोखरेलले भने, “लावण्य सापकोटा कार्यक्रममा भएपछि अर्कै रौनक देखिन्थ्यो ।”

साहित्यिक गोष्ठी भनेपछि सापकोटा हुरुक्कै हुन्थे । पछिल्लो समय शारीरिक अस्वस्थता हुँदाहुँदै पनि कार्यक्रममा जाने गर्दथे । निरन्तरतको लगावकै कारण सापकोटाले हाँस्यव्यङ्ग्य साहित्यमा छुट्टै छाप छाडेर गएको वरिष्ठ समालोचक दधिराज सुवेदीको ठम्याइ छ ।

पत्रकारसमेत रहेका युवाकवि मीनकुमार नवोदितले सापकोटाको अवसानले विराटनगरको हाँस्यव्यङ्ग्य क्षेत्र खाली भएको प्रतिक्रिया दिए । हाँस्यव्यङ्ग्य साहित्यमा सापकोटालाई चुनौती दिने विराटनगरमा कोही पनि नभएको नवोदितको भनाइ छ । “विराटनगरको हाँस्यव्यङ्ग्य साहित्य टुहुरोजस्तै भएको छ,” उनले भने, “उहाँको अवसानसँगै खाली भएको हाँस्यव्यङ्ग्यको स्थान परिपूर्ति हुन निकै समय लाग्छ ।”

सरल भाषाशैलीमा तीखो व्यङ्ग्य गर्न खप्पीस सापकोटाका श्रीमती, एक छोरा र एक छोरी छन् । उनको शुक्रबार विराटनगर होटखोलास्थित श्मशान घाटमा अन्त्येष्टि गरिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.