Nepal Times
Nepal Times
3
Shares

हिमाल आरोहण र पदयात्रा खोल्ने सरकारको तयारी

हिमाल आरोहण र पदयात्रा खोल्ने सरकारको तयारी

२५ भदौ, काठमाडौँ ।
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले हिमाल आरोहण र पदयात्रा खुला गर्न सीसीएमसीमा प्रस्ताव पठाएको बताएका छन् । कोभिड १९ संक्रमणको कारण लामो समय लकडाउन हुँदा पर्यटन क्षेत्र पूर्णरुपमा बन्द भएकोले यसलाई खुला गर्न पहिलो चरणमा कम वस्ती भएका क्षेत्रमा पदयात्रा गर्न र हिमाल आरोहण गर्न सीसीएमसीमा प्रस्ताव पठाएको बताएका हुन् ।

बिहीबार आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको पर्यटन क्षेत्रका सरोकारवालाहरुसँगको भर्चुअल मिटिङमा बोल्दै मन्त्री भट्टराईले चरणवद्ध रुपमा पर्यटन क्षेत्र खोल्ने नीति अनुसार पहिलो चरणमा हिमाल आरोहण र पदयात्रालाई खोल्न लागिएको बताए । उनले पर्यटन क्षेत्रलाई चलायमान बनाउँदै लैजानका लागि असोज १५ गते भित्रमा आन्तरिक उडानलाई खोल्ने तयारी भइरहेको पनि बताए । पहिलो चरणमा उच्च पहाडी र पहाडि जिल्लामा २५ प्रतिशत उडान अनुमति दिएर आन्तरिक उडान सुरु गर्न लागिएको बताए । यस्तै पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय बजारमा पहुँच स्थापना गर्न पर्यटन बोर्डलाई विभिन्न मुलुकमा सेलहरु निर्माण गरेर काम गर्न निर्देशन दिइसकेको समेत बताए ।

नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईंले विगतमा आन्तरिक पर्यटनलाई वेवास्ता गरि डलरको पछाडि दौडदा अहिले पर्यटन क्षेत्र उठनै नसक्ने अवस्थामा पुगेको बताए । पर्यटन क्षेत्रलाई सुचारु गर्न बाह्य उडानलाई बढाउने, विदेशी पर्यटकलाई नियमित उडानमार्फत ल्याउने, एयरपोर्टमा पीसीआर गर्ने व्यवस्था गर्नुपर्ने र क्वारेन्टाइन बस्ने समय घटाउने लगायतका काम सरकारले तत्काल गर्नुपर्ने बताए । त्यसबाहेक पर्यटन व्यवसायीलाई आफ्नो व्यवसाय सुरु गर्न पुनरउत्थान कोषबाट छिटोभन्दा छिटो चालु पूँजी उपलब्ध गराउन र दिर्भकालिन पर्यटनका लागि आन्तरिक पर्यटनलाई बढाउनुपर्ने बताए ।

होटल संघ नेपालका उपाध्यक्ष विनायक शाहले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिबाट ल्याएको पुनरउत्थान कोषको उपयोग अझै गर्न नपाउँदा समस्या भएको बताए । उनले व्यवसायीले पुनरकर्जाको लागि असोज १५ गते सम्म आवेदन दिने म्याद रहेको र त्यसपछि पनि कहिले प्राप्त हुन्छ भन्ने कुरामा अझैपनि स्पस्ट हुन नसकेको बताए । त्यसबाहेक होटल कहिले खोल्ने, पर्यटकलाई कहिले देखि नेपाल ल्याउने भन्ने सम्बन्धमा सरकार अझैपनि स्पस्ट हुन नसकेको बताए ।

नेपालको पर्यटन क्षेत्रमा करिब १५ खर्ब रुपैयाँ लगानी रहेको छ । झण्डै १० लाख मानिसहरुले रोजगारी पाएका छन् । तर कोभिड १९ संक्रमणका कारण अधिकांशले रोजगारी गुमाइसकेका छन भने देशको अर्थतन्त्रमा ठूलो नोक्सानी भइसकेको छ । त्यसैले सरकारले अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना सहित पर्यटन क्षेत्रलाई तत्काल सूचारु गर्नुपनेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.