Nepal Times
Nepal Times
3
Shares

१० महिनामा १० खर्बको व्यापार घाटा

१० महिनामा १० खर्बको व्यापार घाटा

९ बैशाख, काठमाडौ । नेपालको व्यापार घाटा १० महिनामै १० खर्ब रुपैयाँ नाघेको छ ।

भन्सार विभागका अनुसार साउनदेखि चैत महिनासम्मको १० महिनामा १० खर्ब १६ अर्ब रुपैयाँको व्यापार घाटा भएको छ ।

यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा १२ दशमलव ४९ प्रतिशतले धेरै हो। दश महिनामा नेपालले ९४ अर्ब ७६ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको छ भने ११ खर्ब ११ अर्ब ३९ करोड रुपैयाँको आयात गरेको छ ।

आयात अघिल्लो वर्षको १० महिनाको तुलनामा १३ दशमलव १२ प्रतिशतले बढेको छ । भारतसँग मात्रै नेपालको ६ खर्ब ५६ अर्ब रुपैयाँको व्यापार घाटा रहेको छ ।

१० महिनामा नेपालले भारतमा ६८ अर्ब रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेकोमा सात खर्ब २४ अर्ब रुपैयाँको आयात गरेको छ । यस्तै चीनसँग एक खर्ब ६३ अर्ब रुपैयाँको व्यापार घाटा रहेको छ ।

दश महिनामा नेपालले खाद्यान्न मात्रै ५९ अर्ब ७३ करोड रुपैयाँको आयात गरेको छ । २८ अर्ब रुपैयाँको फलफूल र तरकारी आयात भएको छ ।

झण्डै डेढ खर्ब रुपैयाँको पेट्रोलियम पदार्थ, एक खर्ब रुपैयाँको फलाम, ७३ अर्ब रुपैयाँका गाडी र २३ अर्ब रुपैयाँको औषधि भित्रिएको छ ।

सरकारले हरेक वर्ष नीति तथा कार्यक्रम र बजेटमा देशमै उत्पादन हुने वस्तुको उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने र निर्यात बढाउने योजना बनाए पनि त्यस्ता योजना नारामै सीमित भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.