६ पुस, इलाम ।
सदरमुकाम इलाममा करोडौँको शीतभण्डार प्रयोगमा नआएका बेला सन्दकपुर गाउँपालिकाका एक व्यक्तिले आफ्नै लगानीमा शीतभण्डार निर्माण गरेका छन् ।
साथीभाइको सहयोग र आफ्नै सीपमा किवी किसान तारामणि खतिवडाले शीतभण्डार बनाएका हुन् । खतिवडाले किवीकै भण्डारणका लागि भवन बनाएका हुन् ।
आफ्नै बारीमा बनेको शीतभण्डारका लागि करिब एक महिना समय बनाउन लागेको खतिवडाको भनाइ छ । रु तीन लाखमा निर्माण भएको शीतभण्डारमा १० हजार किलो किवी भण्डारण गर्न सकिन्छ ।
“आफूले सिकेकै सीपबाट मैले ‘कोल्डस्टोर’ बनाएको हूँ”, खतिवडाले भने, “कोल्डस्टोर बनाऊँ भनेर धेरैतरि चहारेँ तर कसैले नसुनेपछि पहिले विदेशमा सिकेको सीपले आफैँ बनाएको हूँ ।”
गत वर्ष यो शीतभण्डारमा तीन हजार किलो भण्डार गरेको र यस वर्ष यसको क्षमता बढाएर १० हजार किलो किवी भण्डारण गर्ने बनाएको खतिवडाले बनाए । स्थानीय स्रोतसाधन नै प्रयोग गरेर बनाइएको भण्डारमा छ महिनासम्म किवी भण्डार गर्न सकिने खतिवडाको जिकर छ ।
“तापक्रम मिलाएर राख्न सक्दा लामो समय रहन्छ”, खतिवडाले भने, “यसमा म ९९ प्रतिशत सफल भएँ, यो साल पनि सफल नै हुन्छु भन्ने छ ।”(रासस)