Nepal Times
Nepal Times
3
Shares

४९ जनाको एउटै परिवार, एकै छाकमा पाक्छ २५ किलो चामल

४९ जनाको एउटै परिवार, एकै छाकमा पाक्छ २५ किलो चामल

धनगढी : नेपालीमा एउटा भनाइ छ, ‘सानो परिवार, सुखी परिवार । ’ त्यसैले एकल परिवारप्रतिको आकर्षण बढ्दो छ । मुलुकमा परिवार विभाजन भएर एकल हुने क्रम बढेको बेला कैलालीमा एकै परिवारका ४९ जना सदस्य मिलेर बसेका छन् ।

कैलारी गाउँपालिका–१, मनाउँमा रहेको अङ्ग्रेजीलाल कठरियाका ४९ जना सदस्य एउटै छानामुनि मिलेर बसेका छन् । तीन पुस्ते यो परिवारमा पाँच दाजुभाइका छोराछोरी÷बुहारी र नातिनातिना छन् ।

घरको जेठो अङ्ग्रेजीलालको सात छोरा र दुई छोरी गरी नौ जना सन्तान छन् । सबैको विवाह भइसकेको छ । यसैगरी, माइलो रामचन्दरको तीन छोरामध्ये दुई जनाको विवाह भइसकेको छ । साइँलो लक्ष्मणको दुई छोरी, काइँलो चुन्नुको एक छोरा र दुई छोरी गरी तीन सन्तान रहेका छन् । कान्छो भाइ दयाशङ्करको तीन छोरा छन् ।

गत वर्षसम्म ५० जना सदस्य रहेको यो परिवारले साइँलो भाइ लक्ष्मणलाई भने गुमाइसकेको छ । गएको साउनमा लक्ष्मणको मृत्यु भएको थियो । संयुक्त परिवारको नमुना नै रहेको कठरिया परिवार अहिलेसम्म मिलेर बस्नुको प्रमुख कारण हो, कुशल पारिवारिक व्यवस्थापन । माइलो भाइका माइला छोरा डिल्लीराज परिवारको घरमूली हुनुहुन्छ । आफूले सबैको चित्त बुझाउन सकेका कारण अहिलेसम्म मिलेर बसेको उहाँ बताउनुहुन्छ ।

“सानोतिनो झगडा हुँदा पनि सबै मिलेर समाधान गर्ने गरेका छौँ”, घरमूली डिल्लीराजले भन्नुभयो, “अहिलेसम्म ४९ जना एउटै परिवारमा रहनुको कारण कुशल पारिवारिक व्यवस्थापन नै हो । ” यसका साथै, प्रायः सबैलाई आफूले काममा लगाएको उहाँको भनाइ छ । “सबै काममा व्यस्त भएपछि एकले अर्काको कुरो काट्ने कसैलाई फुर्सद छैन”, डिल्लीराजले भन्नुभयो ।

आमाबुवा र छोराछोरी मात्रै भएको परिवार पनि मिलेर बस्न नसकिरहेको बेला पाँच दाजुभाइका सन्तान मिलेर बस्दा अङ्ग्रेजीलालको खुसीको सीमा नै छैन । ७५ वर्षीय उहाँ भन्नुहुन्छ, “म धर्तीको यस्तो भाग्यमानी व्यक्ति हुँ, जसले यति धेरै सदस्य एकैसाथ बसेको देख्न पाएको छु । ”

माइलो भाइको जेठो छोरा बलिचरण नेपाल सरकारको जागिरे हुनुहुन्छ । स्वास्थ्य क्षेत्रमा काम गर्दै आउनुभएका बलिचरणले परिवारका सदस्यको स्वास्थ्य हेरचाहदेखि आवश्यक सरसल्लाह दिँदै आउनुभएको छ ।

ठूलो परिवार भएकाले चाडपर्वबाहेक अरू दिन सबै सदस्य घरमा सँगै हुँदैनन् । कोही न कोही हरेक दिन बाहिर जाने गरेको बताइएको छ । परिवारका लागि साँझबिहान दुई÷तीन जना गृहिणीले मिलेर खाना पकाउने गर्दछन् । दिनभरि खानाको मेस चल्ने गरेको छ ।

भान्साको काम गर्दै गरेको अवस्थामा भेटिनुभएकी सुशीलाले संयुक्त परिवारका लागि खाना पकाउँदा राम्रै लाग्ने गरेको सुनाउनुभयो । दुई÷तीन जना मिलेर खाना पकाउँछौँ, उहाँले थप्नुभयो, ‘परिवार ठूलो भए पनि मिलेर खाना पकाउँदा झ्याउ लाग्दैन । ’ उक्त परिवारका लागि एकै छाकमा झन्डै २०÷२५ किलो चामल पाक्ने गरेको छ । घरका सदस्यहरू पालैपालो आएर खाना खाने गरेको अर्की गृहणी सीता चौधरी कठरियाले सुनाउनुभयो ।,याे समाचार आजकाे गोरखापत्र दैनिकमा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.