Nepal Times
Nepal Times
3
Shares

६ लेन सडकमा लापर्वाही, महानगरले जिम्मा नलिने

६ लेन सडकमा लापर्वाही, महानगरले जिम्मा नलिने

टेकराज बन्जरा

साउन १९, विराटनगर । निर्माण भईसकेको लामो समय बित्दा पनि अहिले ६ लेन सडकको विभिन्न ठाउँमा थुपारिएको बालुवा उठाईएको छैन । त्यस्तै धेरै ठाउँमा सडक छेउको नालामा स्ल्याब नै हालिएको छैन ।

अबिरल बर्षाका कारण नालाका जमेको फोहोरो सफा नगर्दा विराटनगरका अधिकांश वडा डुबानमा परे। दजनौका घरमा वर्षाको पानी भरिएको छ । निर्माण कम्पनीले यसरी लापर्बाही गर्दा यहाँका सर्वसाधारण र सवारी चालकहरु बढी सास्ती खेप्न बाध्य छन् । नालामाथि स्ल्याब नराखिएकै कारण अहिले फोहोर फयाक्ने डम्पिङ साइड बनेका छन, ती नाला । नालामा बाहिरबाट फ्याँकिएको फोहोर भरिएर दुर्गन्धित हुनुका साथै छेउछाउका घर–पसलहरुमा रोग फैलिने त्रास छ । बीचमै अपूरो निर्माण गरी छाडिएका नालाहरु पैदलयात्रुका लागि धराप बनिरहेका छन् । नालाका कतिपय स्थानमा मानवीय दुर्घटना घटेका छन । सडक बनेको लामो समयसम्म पनि पैदलयात्रीका लागि फुटपाथ नबन्दा र बनेको फुटपाथमा पनि झार उम्रिएर घारी भएपछि दुर्घटनाको जोखिम मोलेर सडकमै हिँड्न बाध्य छन् ।

सो ६ लेन सडक निर्माणको काम भूमि कन्ट्रक्सनले गरिरहेको छ । कन्ट्रक्सनले परियोजनाको काममा लापर्वाही गरेको भन्दै सर्वसाधारण र उपभोक्ता अधिकारकर्मीहरुले पटक–पटक दबाब दिँदा पनि सम्बन्धीत निकायहरु कानमा तेल हालेर बसेका छन् । विराटनगर क्षेत्रभित्रै सडक निर्माण हुँदा पनि विराटनगर महानगर र परियोजनाबिच नै समन्वय नभएको देखिएको छ । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले पटक– पटक कोशिस गर्दा पनि सम्बन्धीत निकायसँग समन्वय हुन नसकेको बताउँदै परियोजनाको काममा ढिलाई र लापरबाही भईरहेकोले मापदण्ड पूरा नगरेको सडक महानगरले जिम्मा नलिने बताए ।

यता परियोजनाले भने काम गुणस्तरीय भईरहेको दाबी गरेको छ । ६ लेन सडक परियोजनाका इन्जिनियर अमरेन्द्र यादवले केही काम बजेट अभावका कारण रोकिएको बताउँदै चाँडो गर्न निर्माण कम्पनीलाई निर्देशन दिईसकिएको बताए ।

यसरी विकास निर्माणका दीर्घकालीन परियोजनाको काममा ढिलासुस्ती र लापरबाही हुँदा करोडौँ रुपैँया बालुवामा पानी खन्याएझैँ भईरहेको छ भने जनताले सास्ती खेप्नु परिरहेको छ । तसर्थ यस्ता दीर्घकालीन महत्वका परियोजनाको काममा सबैको ध्यान जान जरुरी छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.