मलेखु, धादिङ, २६ कात्तिक ः नीलकण्ठ नगरपालिका–१४ को रातमाटेको भदौरेमा आज साँझ गाडी दुर्घटना हुँदा सातजना घाइते भएका छन् ।
सामान लिएर बिक्रीका लागि गाउँ पुगेको बा १० च ९४०७ नं को बोलेरो जिप फर्काउने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो । दुर्घटनामा सातजना घाइते भएको र एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि जिल्ला अस्पतालतर्फ पठाइएको छ ।
यसैबीच, विराटनगरबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस आज साँझ पृथ्वी राजमार्गअन्तर्गत थाक्रे गाउँपालिका–१ खयरघारीमा सडकबाट महेश खोलामा खसेर दुर्घटना हुँदा छजना घाइते भएका छन् ।
ना ६ ख ७६८७ नं को बस खाजा खाएको कान्तिपुर होटलबाट पछाडि हटाउने क्रममा सडकबाट खोलामा खसेर दुर्घटना भएको र घाइतेलाई उद्धार गरी उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टर पठाइएको प्रहरी सहायक निरीक्षक खिम जिसीले जानकारी दिनुभयो ।
रासस