२० पौष, नवलपरासी । नेपाल भारत सीमा तत्काल खोल्न पश्चिम नवलपरासीमा जनता समाजवादी पार्टीले र्यालीसहित धर्ना दिएको छ । जिल्लाको पाल्हिनन्दन गाउँपालिका १ मा रहेको महेशपुर भन्सारदेखि नेपाल भारत सीमासम्म दबाबमूलक ¥याली गर्दै दशगजामा एक घण्टा धर्ना दिएको हो ।
जनता समाजवादीका जिल्ला संयोजक मुकुरजी गिरीको नेतृत्वमा जसपाका नेता कार्यकर्ता र व्यवसायी ¥यालीमा सहभागी थिए । ¥यालीमा सहभागीले सीमानाका बन्द हुँदा व्यवसाय ठप्प भएको, विवाह तथा धार्मिक उत्सव गर्न नपाएको भन्दै तत्काल नाका खोल्लुपर्ने माग गरेका थिए ।
केपी ओली सरकार विरुद्ध नाराबाजी गर्दै तत्काल नाका खोलेर जनजीवन सहज बनाउन माग गरिएको जनता समाजवादीका जिल्ला संयोजक गिरीले बताए ।
नेपाल र भारतको सम्बन्ध रोटी र बेटीको रहेको भन्दै सीमानाका बन्द हुँदा व्यवसायसँगै परम्परागत रीतिरिवाजमा समेत असर परेको भन्दै स्वास्थ्य सर्तकता अपनाएर सीमा खोल्नुपर्ने सीमावर्ती बासिन्दाको माग छ । कान्तिपुर दैनिकबाट साभार ।