नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले कम्युनिष्ट फुटाएर शासन गर्ने कांग्रेसका दिन अब सकिएको बताएका छन्।
बिहिबार बागलुङको गल्कोटमा वाम गठबन्धनको सभालाई सम्बाधेन गर्दै दुई नेताले विगत लामो समयदेखि कांग्रेसले कम्युनिष्टलाई फुटाएर शासन गरिरहेको भन्दै अबको दिन कम्युनिष्टहरूको रहेको बताए।
उनीहरूले देशको समृद्धिको लागि कम्युनिष्टको शासन आवश्यक रहेको बताए। सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले अहिले जनताको चेतनास्तर माथि उठिसकेकाले जनता झुक्याउने काम कांग्रेसलाई नगर्न आग्रह गरे। उनले देशको आमुल परिवर्तन वाम गठबन्धनले मात्र ल्याउने हुँदा अहिले गठबन्धनलाई विजयी बनाउन आवश्यक रहेको बताए।
त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसले लगातार कम्युनिष्ट फुटाएर नेपालमा शासन गरिरहेको बताउँदै कम्युनिष्ट फुटाएर शासन गर्ने दिन समाप्त भएको बताए । उनले चितवनमा आफूसँग राप्रपा प्रतिस्पर्धी रहेको र कांग्रेसले रुख ढालेर हलो बनाएको भनी व्यंग्य गरे । उनले भने ‘कांग्रेससँग प्रतिस्पर्धा गर्न पाएको भए केहि खुसी लाग्थ्यो राप्रपालाई समर्थन गर्यो उसले भुल गर्यो।’
प्रचण्डले अहिले मुलुकमा गणतन्त्र स्थायित्व र समृद्धिको आवश्यक परेको हुनाले यसका लागि पनि कम्युनिष्टहरू एक भएको बताए।सभामा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी नेता देवेन्द्र पौडेलले पनि सम्बोधन गरेका थिए।