काठमाडौँ, ३० कात्तिक ः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पर्वतारोहण क्षेत्रलाई आकर्षक क्षेत्रका रुपमा विश्व बजारमा स्थापित गर्न लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
सो पार्टीको केन्द्रीय कार्यालय, धूम्रबाराहीमा आज एमाले सोलुखुम्बु–काठमाडौँ सम्पर्क मञ्चद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले हिमाली क्षेत्रको पर्यटन (चौरी, याक, यार्सागुम्बा, दृश्यावलोकन) विश्वमै आकर्षक हुँदै गएकाले यसलाई प्रवद्र्धन गर्न वाम गठबन्धन प्रतिबद्ध रहेको बताउनुभयो ।
अध्यक्ष ओलीले आफ्नो पार्टी जातीय विद्वेष फैलाएर दुनो सोझ्याउने प्रकारको पार्टी नभएको उल्लेख गर्दै सबै जात, भाषा र संस्कृतिलाई मान्ने र मुलुकको समृद्धिका लागि नेतृत्व र विचार दिन सक्ने पार्टी रहेको छ भन्नुभयो ।
उहाँले नेपालमा सगरमाथा शिखर सबैभन्दा अग्लो भए झैँ राजनीतिमा आफ्नो पार्टी पनि सबैभन्दा अग्लो हुने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा तत्कालीन मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का महामन्त्री सोनाम छिरिङ शेर्पालगायतलाई पार्टीमा प्रवेश गराउनुभयो ।
रासस