–प्रभाषचन्द्र झा
विराटनगर, २ मंसिर ः निर्वाचनको सरगर्मी मोरङको क्षेत्र नं २ मा व्यापकरुपमा बढेको छ ।
मतदातालाई आकर्षित पार्नका लागि सो क्षेत्रका उम्मेदवारले पाँच वर्षे विकासका भावी योजना सार्वजनिक गर्ने कार्यलाई तीव्रता दिएका छन् । त्यस्तै कोणसभा र घरदैलो अभियानमार्फत मतदातालाई आफूतिर आकर्षित पार्न उम्मेदवारहरु तल्लीन देखिन्छन् ।
मतदाता पनि अब आश्वासनमा मात्र सीमित नरही विकास निर्माण, रोजगारीलगायतका समस्या समाधानका लागि ठोस प्रतिवद्धता खोजिरहेका छन् ।
मोरङको मध्यभागमा अवस्थित यस क्षेत्रका ग्रामीण भेगका सडकको दूरावस्थाका साथै सिँचाइको समेत व्यापक प्रबन्ध नरहेको र यसका साथै आधारभूत आवश्यकता परिपूर्ति हुनुपर्ने विषयमा मतदाता पनि सजग देखिन्छन् ।
सो क्षेत्रमा नेपाली काँगेसबाट डा मीनेन्द्र रिजाल हुनुहुन्छ । यसअघि उहाँ समानुपातिकबाट सभासद् हुनुभएको थियो । प्रखर वक्ताका रुपमा रहनुभएका उहाँ पहिलोचोटी प्रत्यक्षतर्फको निर्वाचनमा उठ्नु भएको छ ।
वाम गठबन्धनबाट नेकपा (एमाले)का ऋषिकेश पोखरेल हुनुहुन्छ । उहाँ यसअघि २०७० को संविधानसभाको चुनावमा निर्वाचित भइसक्नुभएको छ । उहाँ पनि प्रखर वक्ताको रुपमा परिचित हुनुभएकाले सो क्षेत्रमा दुवै जनाबीच कडा प्रतिस्पर्धा हुने सम्भावनालाई नकार्न सकिँदैन ।
मोरङका क्षेत्र नं २ को अधिकांश भाग तत्कालिन क्षेत्र नं १ मा पर्दछ । क्षेत्र नं २ भए पनि यसलाई मोरङको तत्कालीन क्षेत्र नं १ को प्रतिनिधित्व गर्ने क्षेत्रका रुपमा सम्झिने गरिन्छ । सो क्षेत्रबाट २०४८, २०५१ र २०५६ सालमा गिरिजाप्रसाद कोइराला निर्वाचित हुनुभएको थियो । २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसबाट आमोदप्रसाद उपाध्याय र २०७० सालमा उपाध्यायलाई पराजित गरी नेकपा (एमाले)का ऋषिकेश पोखरेल निर्वाचित हुनुभएको थियो । सोही कारणले सो क्षेत्रअर्थात मोरङ २ लाई गिरिजाप्रसाद कोइरालाको क्षेत्रका रुपमा पनि चिन्ने गरिन्छ ।
मोरङका सबै क्षेत्रमा चुनावी प्रचार दिन प्रतिदिन बढ्दै गइरहेको भए पनि क्षेत्र नं २ मा चुनावी प्रचारप्रसारको क्रममा पार्टी प्रवेश कार्यक्रम पनि व्यापकरुपमा भइरहेको कारणले स्थानीय तहको परिणामको आधारमा निर्वाचनको परिणाममाथि अड्कल गर्न नसकिने अवस्था सिर्जना भएको छ ।
यस क्षेत्रबाट एक स्वतन्त्र गरी १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सोमध्ये देशभक्त जनतान्त्रिक मोर्चाबाट होमबहादुर अधिकारी, राजपाबाट महेन्द्रलाल दास, नेपाल जनता पार्टीबाट रघु हास्दा, नयाँ शक्ति पार्टीबाट दीपक कोइराला र संघीय लोकतान्त्रिक राष्ट्रिय मोर्चाबाट थिरबहादुर लिम्बू हुनुहुन्छ ।
त्यस्तै, नेमकिपाबाट तेजप्रसाद ढकाल, राष्ट्रिय जनमोर्चाबाट सुरेन्द्र भण्डारी, एकीकृत राप्रपा (राष्ट्रवादी)बाट कुसुमलाल साह, संघीय समाजवादी फोरमबाट युवराज कार्की र स्वतन्त्ररुपमा कल्पना विमली चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
कुल एक लाख ११ हजार ३२१ मतदाता रहेको यस क्षेत्रमा रतुवामाइ नगरपालिका, सुनवर्षी नगरपालिका, रंगेली नगरपालिकाको १, २, ३, ८ र ९ वडा, पथरी शनिश्चरे नगरपालिकाको ५ र ६ तथा कानेपोखरी गाउँपालिकाको १, २ र ३ वडा पर्दछ ।
रासस