२ मंसिर, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपाका अध्यक्ष कमल थापालाई शुक्रबार राजधानीबाट कडा शब्दमा धम्की दिएर हिसाब-किताव गरिने बताएका थिए । तर, शनिबार झापाको दमक पुगेर उनले राप्रपा महामन्त्री राजेन्द्र लिङदेनलाई भने आफ्नै टिमभित्रको भएको बताउँदै गाई चिन्हमा भोट हालेर जिताउन कार्यकर्तासँग आग्रह गरे ।
झापा क्षेत्र नम्बर ३ मा राप्रपा महामन्त्री लिङदेन हलो चिन्ह लिएर प्रतिनिधिसभामा उठेका छन् । उनका प्रतिद्वन्द्वी छन्- नेपाली कांग्रेसका नेता कृष्ण सिटौला । सो क्षेत्रमा एमाले र माओवादीले उम्मेदवारी दिएका छैनन् । एमाले अध्यक्ष ओलीले वाम गठबन्धनको समर्थन लिङदेनलाई रहेको बताउँदै आएका छन् ।
झापा ३ मा वाम गठबन्धनले उम्मदेवारी नदिई राप्रपालाई समर्थन गरेकोमा स्थानीय नेता कार्यकर्ताहरु सन्तुष्ट छैनन् । माओवादी र एमालेको स्थानीय कार्यकर्ताले राप्रपालाई भोट दिनुभन्दा सिटौलालाई दिनुपर्छ भन्न थालेपछि ओलीले शनिबार आमसभाबाटै राजेन्द्र लिङदेनका लागि भोट मागे ।
‘हामीले अरु राप्रपालाई हैन, यहाँ -झापा) को राप्रपालाई साथ दिएका हौं, धोका दिइसकेको अवस्थाबाट काँधमा चढाएका छौं, ओलीले भने, ‘हामी झापामा तीनवटा पार्टी (एमाले, माओवादी र राप्रपा) एक ठाउँमा भएका छौं, एउटै उदेश्यमा अघि बढेकाले यो कुनै सौदाबाजी र धोका होइन ।’
सहमति गरिसकेपछि आफ्नो वचनमा पक्का हुनुपर्छ भन्दै ओलीले एमाले कार्यकर्ताहरुलाई इमान्दार भएर झापा ३ मा राजेन्द्र लिङदेनलाई भोट दिन आग्रहसमेत गरे । ३ नम्बर बाहेक अन्य क्षेत्रमा राप्रपाले एमालेलाई सघाउने ओलीले बताए ।झापामा राप्रपाले एमालेलाई सघाउने भनिए पनि मकवानपुरमा राप्रपा र कांग्रेसवीच तालमेल भएको छ ।