– अञ्जली थापा
हेटौँडा, ३ मंसिर ः ३ नं प्रदेशको राजधानी हेटौँडा तोकिएमा तत्कालका लागि अर्को व्यवस्था नभएसम्म निर्वाचित प्रतिनिधिलाई खाना, आवास, यातायात सहितको सुविधा निःशुल्क दिने होटल व्यवसायी संघ मकवानपुर र नारायणी यातायात व्यवसायी संघ मकवानपुरले प्रतिबद्धता जनाएका छन् ।
हेटौँडामा एक कार्यक्रमको आयोजना गरेर प्रदेशको राजधानीका लागि चाहिने पूर्वाधारको विषयमा छलफल गर्दै हेटौँडाका उद्योगी, व्यवसायीलगायत सबैको पहलमा यस्तो निर्णय गरिएको हो ।
होटल व्यवसायी संघ मकवानपुरका अध्यक्ष भागिरथ शर्माले निर्वाचित प्रतिनिधिका लागि निःशुल्क खाना र आवास आफ्नो संघले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले हेटौँडामा पर्याप्त होटल रहेको भन्दै प्रदेशको राजधानी बनाउन संघले गर्नुपर्ने भूमिका निर्वाह गर्ने जानकारी दिनुभयो ।
त्यसैगरी नारायणी यातायात व्यवसायी संघका अध्यक्ष बद्रीप्रसाद चौलागार्इंले यातायातका लागि जस्तोसुकै किसिमको साधन उपलब्ध गराउन पनि संघ तयार रहेको बताउनुभयो । उहाँले सबै जिल्लासँग सडक जोडिएको जिल्ला भएको र भौतिक संरचना पर्याप्त रहेको आधारले पनि हेटौँडामा नै प्रदेशको राजधानी रहनुपर्ने तर्क व्यक्त गर्नुभयो ।
औद्योगिक क्षेत्र हेटौँडाभित्र खालिरहेका धेरै भवन रहेको र तत्कालका लागि प्रयोग गर्दै प्रदेश कार्यालय सञ्चालन गर्न सकिने उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालको भनाइ छ ।
मकवानपुरका जिल्ला समन्वय समितिका संयोजक रघुनाथ खुलालले भदौ ४ गते नै जिल्ला समन्वय समिति मकवानपुरले प्रदेशको राजधानी हेटौँडा बनाउने पहल गर्ने निर्णय गरेको बताउनुभयो ।
हाल १९ वटा क्षेत्रीय कार्यालय रहेको हेटौँडा उपमहानगरपालिकामा प्रदेशको राजधानीका लागि चाहिने ७५ प्रतिशत संरचना तयारी अवस्थामा रहेको यहाँका राजनीतिक दलका नेताहरुले बताएका छन् । हेटौँडालाई राजधानी तोकेर बोर्ड मात्र झुण्ड्याए पुग्ने दलहरुको तर्क छ ।
नेपाली काँग्रेसका नेता प्रदीप कोइरालाले प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायत काँग्रेसको नेतृत्वले नै प्रदेशको राजधानी हेटौँडा बनाउन उपयुक्त रहेको तर्क दिएकाले नेपाली काँग्रेसले यसमा पहल गर्ने छ भन्नुभयो । उहाँले हेटौँडामा रहेको पर्याप्त फाँट, सरकारी ठूल्ठूला पाहुनागृह र भवन रहेका कारण तत्कालका लागि मन्त्रालय राख्नसमेत भौतिक संरचना निर्माणमा कठिनाइ नभएको बताउनुभयो । साथै प्राकृतिक प्रकोपको सुरक्षाको दृष्टिकोणले समेत हेटौँडा उपयुक्त रहेको नेता कोइरालाको तर्क छ ।
त्यसैगरी नेकपा (एमाले) मकवानपुरकी नेत्री एवम् प्रदेशसभाको समानुपातिक उम्मेदवार जुनेली श्रेष्ठले प्रदेशको राजधानी हेटौँडा नै हो भन्ने धारणा वाम गठबन्धनबाट जित्ने सबै प्रतिनिधिको साझा धारणा भएकाले आफ्नो दलले यसमा विशेष भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सुरक्षाको दृष्टिकोणले सेनाको पृतनापति, क्षेत्रीय प्रशासन कार्यालय , सशस्त्रको क्षेत्रीय कार्यालय र प्रहरीको प्रदेश कार्यालय नै यहाँ भएकाले सुरक्षित रहेको तर्क दिनुभयो ।
त्यसैगरी नेकपा (माओवादी केन्द्र)का नेता प्रकाश पौडेलले प्रदेश राजधानीका लागि संरचना नै भएको र हाल पनि क्षेत्रीय कार्यालय यहाँ भएको भन्दै राजधानी घोषणा गर्न माग गर्नुभयो । सडकको दृष्टिकोणले हेटौँडाबाट काठमांडौँ पुग्न दु्रतमार्गबाट १ घण्टा, कान्तिराजपथबाट २ घण्टा र निर्माणाधीन काभ्रे तालढुंगा, फापरबारी हेटौँडा सडकले काभ्रे, रामेछाप, सिन्धुपाल्चोक र दोलखालाई नजिक बनाउने बताउँदै उहाँले भन्नुभयो, “निर्माणाधीन धरानचतरा सडकले जिल्लालाई सिन्धुली, रामेछाप र दोलखासँग नजिक्याएको छ, अन्तर्राष्ट्रिय विमानस्थल निजगढ १ घण्टाको दूरीमा छ, सिमरा विमानस्थल र भरतपुर विमानस्थलसमेत १—१ घण्टाको दूरीमा छ ।”
चुनावअगाडि कुनै दलले यसको निर्णय नगर्ने बताउँदै चुनावलगत्तै हेटौँडामा राजधानी ल्याउन दलहरुको पहल रहने नेता पौडेलले बताउनुभयो ।
रासस