खजुरा, बाँके, ४ मंसिर ः यही मंसिर २१ गते हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभाको चुनावका लागि दलहरुले प्रचारप्रसार तीव्र पारेका छन् ।
बाँकेका विभिन्न दलका उम्मेदवारले अहिले गाउँ तथा शहरमा पुगेर मतदातालाई भेटेर मत मागिरहेका छन् । संयुक्त लोकतान्त्रिक गठबन्धन, वाम गठबन्धन, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी र एकीकृत राप्रपाका उम्मेदवारले प्रचारप्रसार तीव्र रुपमा गरिरहेका छन् ।
उम्मेदवारले मतदातासँग विभिन्न विकासे मुद्दा तथा विभिन्न नयाँ योजनाको आश्वासन बाँडिरहेका छन् । नेपालगञ्ज उपमहानगरपालिकासँग जोडिएको बाँके क्षेत्र नं २ का अधिकांश उम्मेदवारले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, प्रादेशिक राजधानी, डुबान तथा कटान समस्यालाई मुख्य एजेण्डा बनाएका छन् ।
वाम गठबन्धनका उम्मेदवार पशुपतिदयाल मिश्रले आफ्नो मुख्य एजेण्डाका रुपमा नेपालगञ्जमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई समावेश गर्नुभएको छ । यसका साथै नेपालगञ्ज विश्वविद्यालय स्थापना र राप्ती नदीको समस्यालाई दीर्घकालीनरुपले समाधान गर्ने उहाँका अन्य एजेण्डा हुन् ।
लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका प्रतिनिधिसभा उम्मेदवार ओमप्रकाश आजादले नेपालगञ्जमा अन्तर्राष्ट्रिय विमानस्थल, अन्तर्राष्ट्रियस्तरको सभागृह स्थापना, नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाको डुबान र कटान समस्या दीर्घकालीनरुपले समाधान गर्न तथा आफ्नो क्षेत्रमा शिक्षा स्वास्थ्य र रोजगारी सिर्जना गर्ने एजेण्डा अगाडी सार्नु भएको छ ।
संघीय समाजवादी फोरम नेपालका मोहमद इश्त्यिाक राईले नेपालगञ्जलाई प्रादेशिक राजधानी बनाउन, तटबन्ध निर्माण र डुबान समस्याको समाधानलाई जोड दिँदै चुनाव जितेर लक्ष्मणपुर बाँध समस्याका विषयमा भारतसँग भएका समझदारी लागू गराउने बताउनुभयो ।
राष्ट्रिय जनता पार्टीका उम्मेदवार विजयकुमार गुप्ताले अवरुद्ध रहेका थुपैै्र नेपालगञ्जका योजनालाई पूरा गर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।
चुनावको मिति नजिकिँदै गर्दा उम्मेदवारले बाँकेका तीन वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र र छ वटै प्रदेशसभा क्षेत्रमा प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।
रासस