आईपीएल : बेंगलोरमाथि कोलकाताकाे सानदार जित

आईपीएल : बेंगलोरमाथि कोलकाताकाे सानदार जित

५ असाेज, एजेन्सी ।

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को ३१ औं खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ९ विकेटले पराजित गरेको छ । साेमबार  शेख जायद स्टेडियम आबूधाबीमा भएकाे खेलमा जितको लागि ९३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको कोलकाताले १० ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।

कोलकाता जितमा ओपनर सुभमन गिल ३४ बलमा ६ चौका र १ छक्का सहित ४८ रनमा क्याच आउट भए । डेब्यू खेल खेलेका बायाँ हाते युवा ओपनर वेंकटेश ऐर २७ बलमा ७ चौका र १ छक्का सहित ४१ रनमा अविजित रहे । कोलकातालाई ओपनर गिल र ऐरले पहिलो विकेटका लागि ८२ रनको साझेदारी गर्दै सहज जित नजिक पुर्याएका थिए । गिल स्पिनर युजभेन्द्र चहलको दशौं ओभरको पहिलो बलमा मोहम्मद शिराजबाट क्याच आउट गराएका थिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको बेंगलोर १९ ओभरमा ९२ रनमा अल आउट भएको थियो । बेंगलोरका देवदत्त पाडिक्कलले सर्वाधिक २२ रन बनाए । कप्तान विराट कोहली, एवि डिभिलियर्स र ग्लेन म्याक्सवेल जस्ता प्रमुख ब्याट्सम्यान चल्न नसकेपछि बेंगलोर सस्तैमा समेटिएको थियो । बेंगलोरका ७ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । तीव्र गतिका बलर प्रसिद्ध कृष्णले दोस्रो ओभरको चौथो बलमा कप्तान विराट कोहलीलाई पाँच रनमा एलबीडब्लू आउट गरेका थिए । छैटौं ओभरको अन्तिम बलमा तीव्र गतिका बलर लोकी फर्गुसनले पाडिक्कललाई २२ रनमा विकेटकिपर दीनेश कार्तिकबाट क्याच आउट गराए ।

पाडिक्कलले २० बलमा ३ चौका प्रहार गरे । आन्द्रे रसेलले स्रिकर भारतलाई सुभमन गिलबाट १६ रनमा क्याच आउट गराए । रसेलले नवौं ओभरको चौथो बलमा बेंगलोरका प्रमुख ब्याट्सम्यान एवि डिभिलियर्सलाई बोल्ड गर्दै गोल्डेन डक आउट गरेका थिए । १२ औं ओभरको चौथो बलमा ग्लेन म्याक्सवेललाई बरुण चक्रवर्तीले ग्लेन म्याक्सवेललाई १० रनमा बोल्ड आउट गरेपछि बेंगलोर संकटमा परेको थियो । लगत्तै अर्को बलमा वानिन्दु हसरंगा गोल्डेन डक आउट हुन पुगे । जेमिसन ४ र सचिन बेबी ७ रनमा आउट हुँदा बेंगलोर ७६–८ को अवस्थामा पुगेको थियो । हर्षल पटेल १२ रनमा आउट भए ।

मोहम्मद शिराज ८ र युजभेन्द्र चहल २ रनमा आउट भए । कोलकाता वरुण चक्रवर्तीले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए । लोकी फर्गुसनले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । आन्द्रे रसेलले ३ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए । प्रसिद्ध कृष्णको नाममा एक विकेट रह्यो । कोलकाताले अव बिहिबार मुम्बई इन्डियन्ससँग खेल्ने छ । बेंगलोरले शुक्रबार चेन्नई सुपर किंग्ससँग खेल्ने छ ।

यस जितले कोलकाता ८ खेलमा ३ जित र ५ मा हार सहित ६ अंकका साथ पाँचौ स्थानमा उक्लिएको छ । रोयल च्यालेन्जर्स बेंगलोर ८ खेलमा ५ मा जित र ३ मा हार सहित १० अंक भएपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ ।  चेन्नई सुपर किंग्स ८ खेलमा ६ जित र २ मा हार सहित १२ अंक जोड्दै शीर्ष स्थानमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.