७ असोज, काठमाडौं ।
विश्वचर्चित पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्न नेपाल आएका छन् ।
उनी बिहीबार काठमाडौं आइपुगेका हुन् । नेपाल आउन पाउँदा खुसी लागेको भन्दै उनले भने, ‘नेपाल र नेपाली क्रिकेटलाई सपोर्ट गर्न म आएको छु ।’
काठमाडौं किङ्ग्स ११ मा आवद्ध उनले आफुले ईपीएलमा सुरुवाती दुई खेल मात्र खेल्ने पनि बताए। ईपीएल ९ असोजदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछ ।
उनी सम्मिलित काठमाडौँ किंग्स-११ को कप्तानी सन्दिप लामिछानेले गर्नेछन् । टिमले लिगको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर पेट्रिएट्ससंग प्रतिस्पर्धा गर्दैछ। नेपाली घरेलु क्रिकेट खेल्ने अफ्रिदी अहिलेसम्मकै सबैभन्दा ठूलो नाम हुन्।