९ असाेज, एजेन्सी ।
पारिवारिक कारण देखाउँदै नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकबाट राजीनामा दिएका डेभ वाटमोर भारतको बरोडाको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।
यसै हप्ता ओमानमा भएको एकदिवसीय शृंखलापछि लागु हुनेगरी पारिवारिका कारण देखाउँदै वाटमोरले नेपाल क्रिकेट संघ (क्यान)समक्ष राजीनामा दिएका थिए । तर उनलाई भारतको प्रान्तिय क्रिकेट एसोसियनसनले मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
गुजरात राज्यको बरोड क्रिकेट एसोसियसनले शुक्रबार नयाँ प्रशिक्षकको रुपमा वाटमोरलाई सार्वजनिक गरेको हो ।हाइप्रोफाइलका प्रशिक्षक वाटमोर सरकार र क्यानको कार्यशैलीबाट असन्तुष्ट थिए । भारतबाट राम्रो प्रस्ताव आएपछि उनले नेपाल छाड्ने निर्णय गरेका थिए ।
वाटमोर नेपालको झण्डै एक वर्ष मुख्य प्रशिक्षकको रुपमा रहेका थिए । नेपाललाई त्रिकोणात्मक एक दिवसीय सिरिज जिताउनुको साथै पछिल्लो ओमान भ्रमणमा समेत राम्रो नतिजा दिएका थिए ।