– लक्ष्मी गारु
भक्तपुर, ५ मंसिर ः नेपाली काँग्रेस र नेपाल मजदुर किसान पार्टीले आलोपालो जित्दै आइरहेको भक्तपुर क्षेत्र नं २ मा यस पटक कसले बाजी मार्छ भन्नेबारे कौतुहलता बढेको छ ।
निर्वाचनको मिति नजिकिएसँगै प्रचारप्रसार व्यस्त रहेका दलहरु एकअर्काको कमजोरी केलाउँदै मतदातामाझ मत मागिरहेका छन् । यसअघिका निर्वाचनमा समेत काँग्रेस, नेमकिपा र एमालेबीच त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो । यसपटक पनि यहाँ काँग्रेस, एमाले र नेमकिपाबीच मुख्य प्रतिष्पर्धा हुने देखिन्छ ।
भक्तपुर– २ मा काँग्रेसले अप्रत्यासितरुपमा पूर्वसभामुख दमननाथ ढुंगानालाई उम्मेदवार बनाएको छ । लामो समय राजनीतिभन्दा बाहिर रहेका ढुंगानालाई एका एक यहाँबाट उम्मेदवार बनाएपछि भक्तपुर– २ को नतिजाबारे सबैको ध्यान गएको छ । जिल्लाका काँग्रेस नेताबीच टिकटका लागि रस्साकस्सी चलिरहेको अवस्थामा ढुंगानाले टिकट पाएपछि भक्तपुर काँग्रेसमा आक्रोश र असन्तुष्टि देखिएको थियो । जुन अहिले मत्थर भइसकेको ढुंगानाको दाबी छ ।
ढुंगाना आफूलाई पार्टीले विशेष मिशनका लागि भक्तपुर पठाएको बताउनुहुन्छ । उहाँ आफू विभिन्न भूमिकामा रिङ बाहिर ( मैदानबाहिर)को राजनीतिमा सक्रिय रहेको अवस्थामा अहिले रिङभित्र राजनीतिक खेल खेल्न आएको बताउँदै आउनुभएको छ ।
“मैले दल र लोकतन्त्रलाई सुदृढीकरण गर्ने, परिवर्तनलाई जनतामा पु¥याउने काम गरिरहेको थिएँ । परिवर्तन भए पनि विकृति कसरी आयो भन्ने कुरामा म लडिरहेको थिएँ,” उहाँले भन्नुभयो, “तर मैदानबाहिर लडेर हुँदैन, भित्रै पस्नुप¥यो ।”
जवाफदेहीतापूर्ण सत्ताको लागि संसद्ले सरकारलाई जति जिम्मेवार बनाउनुपर्ने हो, त्यो बनाउन नसकिरहेको बताउँदै उहाँले आफ्नो उम्मेवारी जवाफदेहीतापूर्ण सत्ताको लागि भएको दाबी गर्नुभयो । आफ्नो उम्मेदवारीको मुख्य उद्देश्य संसद्मा सरकारलाई जवाफदेही बनाउनु रहेको ढुंगानाको भनाइ छ । राष्ट्रिय मेलमिलाप, नेपाली युवालाई नेपालमा नै श्रमको व्यवस्था गर्ने र भक्तपुरलाई मुलुकको सांस्कृतिक राजधानी बनाउने प्रमुख एजेण्डा भएको उहाँ बताउनुहुन्छ ।
भक्तपुर विगतदेखि नै लोकतन्त्र पक्षधरको गढ भएकाले आफ्नो जितको आधार रहेको उहाँले बताउनुभयो । भक्तपुर काँग्रेसभित्रको अभूतपूर्व एकता जितको अर्को आधार रहेको ढुंगाना बताउनुहुन्छ ।
विशेषगरी संविधान निर्माणपछि भारतले लगाएको नाकाबन्दीको खुलेर विरोध गरेकी अनुराधा थापामगर नेमकिपाको तर्फबाट भक्तपुर– २ मा प्रतिनिधिसभा सदस्यका लागि चुनावी दौडमा हुनुहन्छ । मध्यपुरथिमि–२ सानोठिमीका बासिन्दा थापामगर प्रखर र स्पष्ट वक्ताका रुपमा परिचित हुनुहुन्छ ।
अन्य दलको तुलनामा फरक शैलीमा चुनावी प्रचारप्रसारमा जुटेका थापामगरले मतदाताको बीचमा पार्टीको विचार र सिद्धान्त, विगतमा संसद्मा खेलेको भूमिका र गतिविधि प्रकाश पार्दै संसद्को काम कारबाही र निर्वाचनको महत्वका बारेमा राजनीतिक कक्षा सञ्चालन तथा प्रशिक्षणमार्फत चुनाव प्रचारप्रसारमा जुटेको बताउनुभयो ।
व्यक्ति विशेषलाई हेर्नुभन्दा पार्टीलाई हेर्नुपर्ने उहाँको धारणा छ । “संविधानसभा र संसद्मा खलेको भूमिकाको आधारमा नै हामीलाई जनताले भोट दिनेछन भन्ने विश्वास छ,” उहाँले भन्नुभयो । नेमकिपाले आफ्नो घोषणापत्रअनुसार काम गरेको र जनतासँग गल्ती भयो भनेर माफी माग्नु पर्ने अवस्था नभएकाले पनि यसपटक फेरि आफूलाई जिताउने उहाँको दाबी छ ।
त्यसैगरी वाम गठबन्धनबाट यस क्षेत्रमा पूर्व उद्योगमन्त्री महेश बस्नेत उम्मेदवार बन्नुभएको छ । युवा संघको केन्द्रीय अध्यक्षसमेत भइसक्नुभएका बस्नेत यसअघि २०७० सालको संविधानसभा दोस्रो निर्वाचनमा तेस्रो स्थानमा रहनुभएको थियो ।
विगत चार वर्षमा गरेको कामको मूल्यांकन जनताले गर्ने विश्वास व्यक्त गर्दै उहाँले भक्तपुरको सिंहदरबारसम्म पहुँच पु¥याउन मतदाताले यसपटक आफूलाई जिताउने दाबी गर्नुभयो ।
“विसं २०७० को निर्वाचनमा पराजय पछाडि मैले यस क्षेत्रमा धेरै मेहनत गरेको छु । यहाँ विकास निर्माणका थुप्रै काम गरेको छु,” उहाँले भन्नुभयो । स्थानीय तह निर्वाचनमा भक्तपुर नगरपालिकाबाहेक सबै नगरपालिकामा जित हात पारेको र भक्तपुर काँग्रेसको आन्तरिक द्वन्द्वका कारण आफूले चुनाव जित्ने उहाँको भनाइ छ ।
भक्तपुरको कला संस्कृतिलाई संरक्षण गर्दै जीवन्त शहरका रुपमा विकास गर्ने आफ्नो एजेण्डा भएको उहाँले बताउनुभयो । बस्नेतले सिंहदरबार र केन्द्रको ध्यान यतातिर आकर्षित गरी भक्तपुरको विकास निर्माण तीव्र गतिले अगाडि बढाउन पनि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।
भक्तपुर– २ मा यसअघि सम्पन्न तीनवटा आम निर्वाचन र दुईवटा संविधानसभा निर्वाचनमा काँग्रेसले तीन पटक तथा नेमकिपाले दुईपटक जितेको छ । विसं २०४८ मा काँग्रेसका जगन्नाथ आचार्य, २०५१ मा नेमकिपाका आशाकाजी वासुकला, २०५६ मा काँग्रेसका लेखनाथ न्यौपाने, २०६४ मा सम्पन्न संविधानसभा पहिलो निर्वाचनमा नेमकिपाका सुनिल प्रजापति र २०७० मा सम्पन्न संविधानसभा दोस्रो निर्वाचनमा काँग्रेसका रामेश्वरप्रसाद ढुंगेलले भक्तपुर क्षेत्र नं २ मा चुनाव जित्नुभएको थियो ।
विसं २०७० मा काँग्रेसका ढुंगेलले २१ हजार १२१, नेमकिपाका सुनिल प्रजापतिले १७ हजार ४११, एमालेका महेश बस्नेतले १६ हजार २९, माओवादी केन्द्रका देवीप्रसाद (डिपी) ढकालले पाँच हजार ७९१, राप्रपा नेपालका दीपेन्द्रकुमार केसीले दुई हजार ६३२ तथा राप्रपाका सानुकाजी हेकाले एक हजार ७६१ मत प्राप्त गर्नुभएको थियो ।
यस क्षेत्रमा मध्यपुरठिमी नगरपालिका र सूर्यविनायक नगरपालिका गरी दुई स्थानीय तह रहेको छ । स्थानीय तह निर्वाचनमा मध्यपुरठिमीमा नेमकिपासँग तालमेल गरेको एमालेले नगरप्रमुखमा १३ हजार ९६० मत तथा सूर्यविनायक नगरपालिकामा १२ हजार १६५ मत प्राप्त गरेको थियो । त्यसैगरी काँग्रेसले मध्यपुरठिमीमा १० हजार ८४६ तथा सूर्यविनायक नगरपालिकमा १० हजार १७५ मत प्राप्त गरेको थियो ।
काँग्रेसले मध्यपुरठिमीमा उपप्रमुखसहित नौमध्ये छ वडाध्यक्षमा जितेको थियो भने सूर्यविनायकमा काँग्रेसले तीनवटा वडामा मात्र जित हासिल गरेको थियो । एमालेसँग तालमेल गरेर मध्यपुरठिमीको उपप्रमुखमा उम्मेदवारी दिएको नेमकिपाले ८ हजार १२३ तथा सूर्यविनायक नगरपालिकाको प्रमुखमा दुई हजार २८० मत प्राप्त गरेको थियो ।
रासस